तीव्ररुपमा फैलिँदै डेंगु संक्रमण, देशभर १९ हजार संक्रमित

काठमाडौं । देशभर डेंगु संक्रमण तीव्ररुपमा फैलिरहेको छ। ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्यांक अनुसार डेंगु संक्रमितको संख्या १९ हजार पाँच ९९ पुगेको छ। डेंगु संक्रमणबाट हालसम्म नौ जनाले ज्यान गुमाइसकेका छन्।

डेंगु संक्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ। डेंगु संक्रमण सबैभन्दा बढी काठमाडौंमा फैलिएको छ। काठमाडौंमा डेंगु संक्रमणबाट हालसम्म तीन हजार एक सय तीन जना प्रभावित बनेका छन्।

यस्तै कास्कीमा दुई हजार आठ सय ४७ जनामा डेंगु संक्रमण देखिएको छ। यस्तै तनहुँमा दुई हजार एक सय सात, पर्वतमा एक हजार पाँच सय ६२, चितवनमा नौ सय ७१, ललितपुरमा आठ सय २७, गोरखामा ५ सय ८८, बाग्लुङमा छ सय १०, भक्तपुरमा तीन सय ५५ तथा स्याङ्जामा तीन सय ३५ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको महाशाखाले जनाएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका रिसर्च युनिटका संयोजक तथा संक्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुन भन्छन्, “पोस्ट मनसुन सुरु हुँदा डेंगुको जोखिम बढ्ने सम्भावना हुन्छ। दशैं लगत्तै अस्पताल आउने डेंगुका बिरामी बढिरहेका छन्। समुदायमा डेंगु संक्रमण फैलिएको देखिन्छ।”

विसं २०८० को पुस मसान्तसम्म देशभर झण्डै ५२ हजारभन्दा बढीमा डेंगु संक्रमण पुष्टि भएकामा २० जनाको मृत्यु भएको थियो। डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो।

लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्यांकी पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्नुपर्छ।

डेंगु संक्रमणबाट बच्न मुख्यतः लामखुट्टेको टोकाइबाट जोगिनुपर्छ। डा पुन भन्छन्, “झूलको प्रयोग गर्नु राम्रो हुन्छ। जटिल लक्षण देखिए स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।”