सानिमा बैंकले धादिङका दुई विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने

धादिङ । सानिमा बैंक मलेखु शाखाले धादिङका दुई जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने भएको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत अनिसा चेपाङ र  नवीन श्रेष्ठलाई छात्रवृत्ति वितरणका लागि छनौट गरेको बैंकका मलेखु शाखाका प्रबन्धक रमेश पण्डितले जानकारी दिए ।

पण्डितका अनुसार छात्रवृत्ति अन्तर्गत शैक्षिक शुल्क, शैक्षिक सामग्री र नगदवृत्ति स्वरुप प्रतिमहिना दुई हजार सहित प्रत्येक विद्यार्थीलाई रु.५० हजार सम्मको छात्रवृत्ति प्रदान गरिने छ ।

छात्रवृत्ति वितरणका लागी बैंकले विभिन्न निकायका प्रतिष्ठित व्यक्तिहरू सम्मिलित छनौट समिति गठन गरेको थियो । सोहि समितिले चेपाङ र श्रेष्ठ लाई छात्रवृत्ति वितरणका लागी सर्वसम्मत रुपमा छनोट गरेको पण्डितले बताए ।

सानिमा बैंकले २०६८/६९ देखि काठमाडौं उपत्यकाबाहिरका प्रत्येक शाखाबाट कक्षा ११ र १२ अध्ययनका लागि २/२ जना विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।