मर्स्याङ्दी दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुग्यो

घाइतेको उद्धार गर्दै सुरक्षाकर्मी तनहुँ, ७ भदौ : तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मस्र्याङ्दी नदीमा शुक्रबार खसेको बसका घाइते यात्रुको उद्धार गर्दै सुरक्षाकर्मी । पोखराबाट काठमाडौतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको बस नदीमा खसेको छ । तस्बिर सौजन्य : नेपाली सेना/रासस

तनहुँ । तनहुँको आबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित मर्स्याङ्दी नदीमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ । शुक्रबार भारतीय नम्बर प्लेट–७६२३ को बस मर्स्याङ्दी नदीमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २७ पुगेको हो ।

२६ जनालाई आँबुखैरेनीमै मृत घोषणा गरिएको र एकजनाको भरतपुरमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए । उनका अनुसार दुर्घटनाको कारण खुलेको छैन । मृतकहरूको सनाखत भैसकेको छैन ।  

यस्तै १६ जनालाई उपचारका लागि काठमाडौँ लगिएको जानकारी प्रमुख जिल्ला अधिकारी गौतमले दिए । उनीहरू भारतबाट पोखरा हुँदै काठमाडौँ आउँदै थिए । 

गण्डकी प्रदेश प्रहरी कार्यालयका एसएसपी रवीन्द्र रेग्मीका अनुसार चालका दलका दुई जना र ४१ यात्रु भारतीय नागरिक रहेका थिए । घटना भएपछि भारतीय दूतावासका प्रतिनिधि समेत तनहुँ पुगेका छन् ।

दुर्घटनामा अनंत ओंकर ईंगके, सिमा ईंगदे, सुहास राणे, शरण राणे, चंदना राणे, सुधाकर जावके, रोहिणी जावके, विजया कुडु जावके, भारती प्रकाश जावके, सागर जावके, तुल्सीराम तायडे, शरण तायडे, भंगरण राणे, प्रकश कोखी, रेखा कोखी, संदिप सरोडे,, पसवी सरोडे, गोकर्णी सरोडे, हेमराज सरोडे, रुपाक्षी सरोडे, अनुप सरोडे, गणेश भांरबे, मिलन भांरवे, सुलभा भांरवे, बिजसा जावसे, भारती भिरुक, शारदा पाटीह, नित्ठोमा जावरे, कुमुदिनी झाँवर, धानेन्दधर बोड, आशा बोड, आशा बावस्कर, आशाखा पांडुरंग, सुनिस धाँडे, सरोज भिरुड, पंकज भंगादे र वर्षा भंगादेलगायत परेका थिए ।