मंकीपक्सको संक्रमण विश्वभर बढ्दै, कंगोमा मात्रै ५७० जनाको मृत्यु

काठमाडौं। विश्वमा मंकीपक्स (एमपक्स) को संक्रमण लगातार बढिरहेको छ। अफ्रिकी देश कंगोमा १६ हजारभन्दा बढीलाई मंकीपक्सको संक्रमण भएको छ।

मिडिया रिपोर्टका अनुसार मंकीपक्सबाट कंगोमा मात्र अहिलेसम्म ५७० भन्दा बढीको मृत्यु भइसकेको छ। कंगोली सरकारले अमेरिका र जापानबाट खोप मागेको छ।

मंकीपक्सको संक्रमण अफ्रिकी देशहरुमा लगातार बढेपछि विश्व स्वास्थ्य संगठनले हालै विश्वव्यापी सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ। प्रजातान्त्रिक गणतन्त्र कंगोमा यो रोग सुरु भएपछि छिमेकी देशहरूमा फैलिएको छ। अमेरिकाले कंगोलाई संक्रमणसँग लड्नका लागि ५० हजार खोप दिन आग्रह गरेको बताइएको छ। जापानले सोमबार मात्र बालबालिकाका लागि ३५ लाख खोप उपलब्ध गराउने बताएको छ।

विश्व स्वास्थ्य संगठनले यो रोगसँग लड्न नयाँ निर्देशिका पनि जारी गरेको छ। मंकीपक्सको प्रकोप हुने क्षेत्रमा खोप लगाउने रणनीति अपनाउनुपर्ने डब्लुएचओले जनाएको छ। संगठनले मंकीपक्स र यसको फैलावटका घटनाहरूको छानबिन गर्न पनि आग्रह गरेको छ। डब्ल्यूएचओले स्वास्थ्य विभागलाई हरेक हप्ता नयाँ केसको रिपोर्ट तयार गर्न भनेको छ।

मंकीपक्स पीडितको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान, अनुगमन र सहयोग गर्नुपर्ने संस्थाले जनाएको छ। साथै संक्रमित मानिसहरूलाई खाना र अन्य सहयोग उपलब्ध गराउन तयार रहन समेत आग्रह गरिएको छ।