कृषिमन्त्री अधिकारीलाई नेपाली कांग्रेस रुबीभ्याली द्वारा सम्मान: उत्तरी धादिङको बिकासमा प्रतिबद्धता

काठमाडौं । नेपाली कांग्रेस रुबीभ्याली द्वारा काठमाडौँमा कृषि तथा पशुपालन मन्त्री रामनाथ अधिकारीलाई सम्मान गरिएको पर्यटन व्यावसायि प्रदीप तामाङले होराईजन खबरलाई जानकारी दिनु भयो । नेपाली कांग्रेसका स्थानीय नेता, व्यवसायी, र कार्यकर्ताहरूको उपस्थिति रहेको यस कार्यक्रममा मन्त्री अधिकारीले उत्तरी धादिङको समृद्धि र विकासमा सरकारको गहिरो प्रतिबद्धता दोहोर्याएका छन्।

कार्यक्रमको आरम्भमा स्थानीय अगुवाहरूले मन्त्री अधिकारीलाई फेटा लगाई बधाई तथा सम्मान गरे। मन्त्री अधिकारीले विशेष गरी स्याउ खेती र च्याङ्ग्र पालनलाई उत्तरी धादिङको आर्थिक विकासको प्रमुख आधार बनाउने सरकारको योजना प्रस्तुत गरे। उत्तरी धादिङको प्राकृतिक सम्पदालाई सदुपयोग गर्दै आर्थिक आत्मनिर्भरता प्राप्त गर्ने उद्देश्यले आधुनिक सिँचाइ प्रणाली र उन्नत जातका स्याउ बिरुवाको प्रयोग गर्नुपर्ने कुरामा उनले जोड दिए। च्याङ्ग्र पालनको सम्भावनाबारे कुरा गर्दै अधिकारीले उत्तरी धादिङको चरन क्षेत्र र वातावरणलाई आदर्श मानेर यसको प्रवर्द्धन गर्न सरकारको नीति निर्माण गरिने बताए।

पूर्वाधार विकासमा पनि उत्तरी धादिङलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउँदै मन्त्री अधिकारीले दमन राजमार्गको स्तर उन्नति र कालोपत्रे गर्न सरकारसँग निरन्तर लविङ गर्ने वाचा गरे। उनले भने, “दमन राजमार्गको विकासले उत्तरी धादिङको समग्र आर्थिक समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ।”

कार्यक्रममा उपस्थित स्थानीय नेताहरू कुलबहादुर गुरुङ, सेतेमान तामाङ, डेबिट घले, आईत घले, र योगबहादुर तामाङ लगायतका युवा नेताहरूले पनि मन्त्री अधिकारीलाई बधाई दिँदै नेपाली कांग्रेसभित्र एकता कायम गर्न र गुटबन्दी राजनीतिको अन्त्य गर्न जोड दिए। उनीहरूले धादिङको ग्रामीण क्षेत्रको आत्मनिर्भरता र समृद्धिका लागि यो प्रयास महत्वपूर्ण कदम हुने बताए। स्थानीय व्यवसायी र कृषकहरूले पनि यस योजनालाई स्वागत गर्दै यसले क्षेत्रको आर्थिक अवस्थामा ठोस सुधार ल्याउने विश्वास व्यक्त गरे।

मन्त्री अधिकारीले जनताको सेवामा सधैं तत्पर रहने प्रतिज्ञा गर्दै कार्यक्रमको अन्त्य गरे। उनले भने, “म जनताको सेवक हुँ, र जनताको आवश्यकता र इच्छालाई केन्द्रमा राखेर काम गर्नेछु।”

उत्तरी धादिङको समृद्धिका लागि यो पहलले कृषि, पशुपालन, र भौतिक पूर्वाधार क्षेत्रमा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। स्थानीय जनताले पनि यसलाई उत्साहका साथ स्वागत गरेका छन्, र यसले उनीहरूको जीवनस्तरमा सुधार ल्याउने विश्वास लिएको छ।