नेपालको पर्यटन उद्योग संकटमा, राज्यले सही दिशा नदिँदा विकृति र जोखिम बढ्दै: ज्योति अधिकारी

काठमाडौं । नेपालको पर्यटन उद्योग संकटमा छ, र यसको लागि राज्यको नेतृत्वलाई जिम्मेवार ठहराउँदै लामो समयदेखि पर्यटन क्षेत्रमा सक्रिय ज्योति अधिकारीले कडा आलोचना गरेका छन्। उनले नेपालको पर्यटन क्षेत्रलाई सही मार्गदर्शन दिन राज्य असफल भएको बताउँदै, वर्तमान अवस्थामा पर्यटन व्यवसायलाई विकृति र जोखिमको खाडलमा धकेलिएको बताए।

“नेपाल यस्तो देश हो जहाँ सबैलाई ओगट्ने ठाउँ छ, तर राज्यको उदासिनताका कारण पर्यटन उद्योगले आफ्नो सही दिशा पाउन सकेको छैन,” अधिकारीले भने।

उनका अनुसार, नेपाल अहिले छाडा खालको पर्यटन र विकृतिको चपेटामा परेको छ। “व्यवसायीहरूले सस्तो मूल्यमा टुर बेचेर पर्यटनलाई जोखिममा पार्दैछन्। यो अवस्था खतरनाक छ र यसले नेपालको पर्यटन क्षेत्रलाई ध्वस्त पार्न सक्छ,” अधिकारीको भनाइ छ।

गाइडेड टुरिजमलाई प्राथमिकता दिनुपर्ने र मूल्य निर्धारणको स्पष्ट मापदण्ड बनाउनुपर्नेमा उनले जोड दिए। “गाइडेड टुरिजमले मात्र सुरक्षा र गुणस्तर सुनिश्चित गर्न सक्छ। अहिलेको अवस्थामा पर्यटन उद्योगमा अराजकता छाएको छ, जसले गर्दा व्यावसायिकता र सुरक्षामा ठूलो कमी आएको छ,” उनले थपे।

नेपालको पर्यटन क्षेत्रले कानुन अनुरूपको सुधारको अभावमा अन्डर टेबल गतिविधिहरूको चपेटामा परेको अधिकारीको आरोप छ। “कानुन र नियमको पालना नगर्ने प्रवृत्तिले उद्योगलाई दिगो बनाउन असम्भव बनाएको छ,” उनले भने।

अधिकारीका अनुसार, हिजोआज नेपाल आउने पर्यटकहरूले नियम उल्लंघन गर्ने र आफ्नो देशबाटै सेवा र सुविधा ल्याउने प्रवृत्ति बढेको छ। “यी पर्यटकहरूले नेपाललाई केवल मनोरञ्जनको साधनका रूपमा प्रयोग गर्छन् र यहाँ फोहोर मात्र गरेर फर्कन्छन्। यसले हाम्रो देशलाई ठुलो नोक्सान बेहोर्न बाध्य पारेको छ,” उनले चिन्ता व्यक्त गरे।

पर्यटन उद्योगलाई सुधार गर्नका लागि ठोस नेतृत्वको आवश्यकता रहेको अधिकारीले प्रष्ट पारे। “नेपालको पर्यटन उद्योगलाई सही मार्गदर्शन गर्न सक्षम र दृढ नेतृत्व आवश्यक छ ,नेपालको पर्यटन उद्योगलाई विश्व स्तरमा पुर्याउनका लागि ठोस योजना र रणनीति आवश्यक छ। राज्यले यस क्षेत्रमा गरेको लगानी र नीतिहरू पुनर्विचार गर्नु आवश्यक छ।”

नेपालको पर्यटन क्षेत्रको सुधारका लागि सबै पक्षले मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको र यसले मात्र उद्योगलाई दीर्घकालीन सफलतातर्फ डो-उला भन्नेमा अधिकारी विश्वस्त छन्। वर्तमान अवस्थामा राज्यको कमजोर नेतृत्वले पर्यटन उद्योगलाई गम्भीर संकटमा पार्न लागेको स्पष्ट छ, र यसलाई सुधार्न ठोस कदम चाल्न ढिला गर्नु हुँदैन।