धादिङ । कुरा २०७६ साल बैशाख १ गतेको हो , हामी मनाङको चामेबाट नयां वर्षलाइ स्वागत गरी घर तर्फ फर्कदै थियौ । फर्कने क्रममा हुलका हुल विदेशी पर्यटकहरु गह्रौ भारी भएको झोला बोकी लट्ठी टेक्दै मनाडको ट्रेकिड गरी रहेका थिए । यसै क्रममा मनाङको तालगाउं नजिक आइपुग्दा अन्दाजि २०,२२ वर्ष उमेरकी स्वीस सुन्दरी एक्लै ट्रेकिङ गरी रहेकी रहिछिन् । यो देखेर मलाइ आश्चर्य लाग्यो। मनमनै सोचे कि विदेशी सामाजिक संस्कृति हाम्रा तिर भन्दा कत्ति धेरै अगाडी बढी सकेको ! हाम्रा तिरका महिलाहरु यसरी एक्लै हिड्ने आंट पनि त गर्नु पर्यो नि ! मनमनै तिनीलाइ साधुवाद दिएं किनकी हाम्रा तिरका महिलाहरु यसरी एक्लै हिड्ने आंटको कल्पना सम्म गर्न कहां सकिन्छ र ? यो घटनाले मलाइ भने भित्रै देखि थप उर्जा मिलिरहेको थियो । एकदिन म पनि साथी नमिलेमा एक्लै देश दर्शनमा निस्कने छु । हेरौ के पो होला ?

म समयको पर्खाइ मा थिएं । आफ्नै जिल्लाको रुविभ्यालीको वर्णन यु टुव वाट हेर्न पर्दा नरमाइलो लागि रहेको थियो । उक्त भूगोलको यात्रा गर्ने तिव्र इच्छा हुंदा हुंदै पनि समय,परीस्थिति र मौशमको संयोजन मिल्न नसक्दा मन खुम्चि रहेको थियो । यस पटक भने रुविभ्याली तिर शिक्षण पेशा गर्ने शिक्षक साथीहरुसंग चिनजान हुने अवसर प्राप्त भयो । भेटघाट र भलाकुसारीकै क्रममा मैले आफ्नो डायरी मा उहांहरुको नाम , फोन नं र ठेगाना उतार गरी राखेको थिए । साथै रुविभ्यालीको पर्यटकीय स्थानहरुमा घुमाइ दिन र एक्लै आएको अवस्थामा धादिङ वेशी देखि रसुवाको धुन्छे सम्मको ट्रेकिङ रुट र अन्दाजी यत्राको क्रममा लाग्ने समय समेत डायरीमा टीपोट गरेको थिएं । यसले म मा थप आत्म विश्वास बढायो भने मनाङ मा एक्लै यात्रा गरीरहेकी विदेशी नागरीकको अदम्य शाहसले भित्रभित्रै उर्जा मिलिरहेको थियो । यात्राको क्रममा भेट भएकाहरु पनि त मेरा साथी र सहयोगी हुन सक्छन् नि ! त्यसैले म एक्लै कहां पर्छु र ? वस् यही दृढ शाहस र इच्छा शक्तिले गर्दा म एक्लै रुविभ्यलीको यात्रामा निस्किएं ।

भिर्ने झोला भित्र अति आवस्यक वस्तुहरु जस्तो मन्जन ,व्रस, प्राथमिक उपचारका औषधीहरु,चाउचाउ,बिस्कुट,चकलेट,फोन चार्जर र ब्याकअप,जाडोमा लगाउने कपडाहरु लगायत संझनामा आए सम्मका सामग्रीहरुलाइ झोला भित्र मिलाएर राखें । स्थानीयहरुको लागि सानो भए पनि मायाको चिनो समेतको व्यवस्था गरें ।
२०८१ साल जेठ महिनाको ८ गते दिनको ३ बजे तिर हामी जीपबाट सेर्तुङमा ओर्लियौं । सैगै आएका साथीहरु आ-आफ्नो गन्तव्य तर्फ लागे । अब म भने कता पो जाने हो एक्लै पर्ने भएं । त्यस दिन म जसको सम्पर्कमा आउदै थिए कारणवस उनको सोही दिनबाट तालिम पर्न गएछ । योजना अनुसार भएन , सोचे अनुसार पनि भएन । के गर्ने कसो गर्ने भन्ने अलमलमा परें । यतिकैमा म सवार जीपमा यात्रा गर्ने एकजना भाइ म तर्फ आइ सोधे – सर तपाइ कहां जाने हो र ? मैले तत्काल उत्तर दिए – तिप्लिङ जाने भनेको अनि तपाइ नि ? मैले प्रति प्रश्न गरें । म पनि तिप्लिङ नै जाने हो , सांझ सम्ममा पुगि हालिन्छ संगै जाउंला नि ! उनले भने । ढुङ्गा खोज्दा देवता मिल्यो भने जस्तै भयो मलाइ । त्यस दिन बिहानको खाना पछी यात्रा भरी केही पनि खाने अबसर मिलि राखेको थिएन । हल्का भोक पनि लागि रहेको थियो । मैले झोलामा खाजा र थर्मसमा पानी बोकेको थिएं । खाजा खाने प्रस्ताव गरे । उनले अलिपर सम्म चौर छ त्यही जाउला नि सर भने । मैले पनि मुन्टो अल्लाउदै सहमति जनाए । कुराकानी कै क्रममा ति भाइ र मेरो चिनजान हुंदै गयो । ति त हालसाल त छीमेकी पो भएका रहेछन् , पौवा गाउं तिरका निरज तामाङ । मेरा वरपरका सबैलाइ चिन्दा रहेछन् । मसंग मात्र चिनजान हुन नसकेको , कस्तो अचम्म ? निरज त तिप्लिङका राम्रै चिनजानका बासिन्दा रहेछन् । आमा वुवा र वहिनी तिप्लिङ को घरमै बस्नु भएको । आमा वावुको न्यस्रो र लेक तिर यार्सा खोज्ने सिजन समेत भएकाले २,३ वर्ष पछी पहिलो पटक घर आएका रहेछन् । पाङसाङपासमा उनैले पहिलो पटक होम स्टे संचालनमा ल्याएका रे ! काम गर्ने मानिसको अभावमा अहिले बन्द छ सर अब परीवारसंग सल्लाह गरी होम स्टे पनि चलाएर दुइ चार दिन पछी धादिङ फर्कने हो भनि खाजा गफमा कुरा गर्दै थिए । आज मेरै घरमा बस्ने हो सिस्नो ढीढो खाउंला , भोली दिनभर होमस्टे को लागि सामाग्रीहरु जुटाउन लाग्ने छु पर्सी संगै पाङसाङपास जाऔला हुन्न र सर ? – उनले प्रस्ताव राखे । आफुलाइ पनि त्यस्तै मान्छे चाहिएको हुन्छ नि भनेर जवाफ फर्काएं । त्यस दिन निरजले उनकै घरमा लगि बास राखे । बेलुका वावा आमा र बहिनीसंग परीचय गराए । मैले वावालाइ ढाका टोपी लगाइ दिए । आमालाइ पनि मोवाइल राख्ने पर्स दिएं । म त्यस परीवारको नयां सदस्य बने । तमाङ भाषाको अलवा नेपाली भाषा पनि बोल्नु हुंदो रहेछ केही बेर सुख दु:खका कुरा भए । अनि आ-आफनो बिस्राम कक्ष तिर लाग्यौ ।
भोलीपल्ट बिहानै खाना खाइ म दोङदेन मावि तर्फ लागें । निरज आफ्नै घर व्यवहारमा तल्लिन थिए । म विद्यालय पुग्दा काठमाण्डौ सेन्टजेभियर्सका शिक्षक विद्यार्थीहरुले स्वास्थ्य शिविर संचालन गरीरहेका रहेछन् । मलाइ प्रधानाध्यापक नोर्साङ तामाङ र विद्यालयका अध्यक्ष मान घले लगायत शिक्षक साथीहरुले गेट देखिनै स्वागत गरी लैजानु भयो । मैले आफुसंग भएको सामग्री प्रयोग गर्दै मानव अधिकार शिक्षा र कानूनी सचेतनाका थोरै भए पनि शिक्षक विद्यार्थी र विव्यस वीच अन्तरक्रिया गर्ने अवसर पाए । मेरो शेशनलाइ सेन्टजेवियर्सका भाइबैनीहरुले पनि रोचक मानी सुनि रहनु भएको थियो । एक आपसमा चिनजान र मित्रता साटासाट गर्दैमा दिन बितेको पत्तै भएन । बेलुकाको बास लब्दुङ तिप्लिङ होमस्टे मा बस्ने कुरा थियो । त्यसैले मलाइ प्रअ नोर्साङ सरले होमस्टे तिर लैजानु भयो । होमस्टे मा पुग्दा हामीलाइ संचालक सोम वहादुर तामाङले स्वागत गर्नु भयो । उहां लामो समय देखि शिक्षण पेशामा पनि संलग्न हुनु हुंदो रहेछ । सोम सर संग मेरो धादिङ वेशी मा केही दिन अगाडी मात्र चिनजान भएको थियो । आकाशमा बादल लाग्यो कि बाक्लो लुगा लगाउन पर्ने बडो गजवको ठाउं । त्यस माथि बाहिर पानी दर्की रहेको थियो । सोम सरको भान्छा तिर गै आगो ताप्ने काम गरीयो । सरले बडो आतित्यथापूर्वक खाजा नास्ताको व्यवस्था गर्नु भयो । चिया को चुस्कि संगै गफ चल्दै रह्यो । लब्द्ङ तिम्लिङ होमस्टे को वातावरण , सरसफाइ , बिश्राम कक्ष र सामाग्री व्यवस्थापनलाइ हेर्दा कुनै नाम चलेको रिसोर्ट भन्दा कम थिएन । होमस्टे संचालनमा सोम सर ले ठुलै लगानी गर्नु भएको रहेछ । मैले सरलाइ यसको लागि धन्यवाद दिदै व्यवसाय सफलताको कामना पनि गरें ।
जेठ १० गते बिहानै ५ बजे नै स्थानीय शिक्षक,विद्यार्थी ,कर्मचारी र गाउलेहरु यार्सा को खोजीमा लेक तिर जाने तयारी हुंदो रहेछ । दुइ दिन लगातार सार्वजनिक विदा भएकोले शिक्षक कर्मचारीलाइ सजिलो पनि थियो । म पनि नोर्साङ सरसंगै उहाहरुकै साथ लागे । कच्ची बाटो यमपुरीको यात्रा भने झै स्वराज गाडीमा चढेको कहिले अगाडी उफार्दै ठोकाउछ कहिले पछाडी , त्राहिमाम त्राहिमात्र , उचाल्नु पछार्नु ले शरीरनै थिलथिलो । कहिले गाडीबाट झरुंला जस्तो बनायो । तै केही माथिसम्म मात्र दाउरा लिन गएको रहेछ । करीब एक घण्टाको सकसपूर्ण यात्रा पछी शरीरले मुक्ति पायो । अब भने हामीहरु झोलाको भारी भिर्दै लौरोकोव भरमा उकालै उकालो लेकाली क्षेत्र पाङसाङ तर्फ लाग्यौ । जति उचाइ चढ्दै गयो उति उचाइ लाग्नेबक्रम पनि हुंदै गयो । स्थानीय साथीहरुलाइ लेक लाग्ने कुरै भएन तर मलाइ भने हिड्न असहज भैरहेको थियो । त्यसैले त १०, १२ जनाको ग्रुपमा म भने सबै भन्दा पछाडी एक्लै हिड्दै थिए । पाङसाङ नजिक पुग्न नपाउदै साथीहरु यार्साको खोजिमा भीर तर्फ लाग्नु भयो आफूलाइ भने स्यां फू स्यां फू मुटुले खलाति तानिरहेको थियो । के को यार्सा टिपेको हेर्नु बरु कहिले पो पुग्ने हो चुचुरोमा जस्तो लागिरह्यो । झण्डै ११:३० बजे तिर हामी पाङसाङपास पुग्यौ । भोक तिर्खाको त कुरै नगरुं कति हो कति ? तै पनि पाङसाङको चुचुरोमा पुगेपछि ति सबै बिर्सिएछ । सबै साथीहरु एकल र समुहमा तस्बिर खिच्न मै ब्यस्त । म पनि उनीहरु संगसैं लागेर केही थान फोटोहरु खिंचे , मिन्दुमायाको भाका गाए । शैलुंगे गाउंको भाका हाले , डम्फूको ताल संझदै छमछम नांचे । राष्ट्रिय झण्डा फरफर फरफराए ।
संगै आएका एक जोडी भाइबैनी सोम्दाङ हेर्न जाने भनेर अगाडि लागे । मलाइ पनि सोम्दाङ हुंदै रसुवाको धुन्छे भै घर फर्कने रहर थियो । म झोला भिर्दै कुलेलाम उनीहरुको पछिपछि कुदें । केहीबेर त हामी संगै थियौ तर के सोचे कुन्नि सर तपाइको चालमा सोमदाङ पुग्न पनि गह्रो हुन्छ हामी त फर्किएर पाङसाङ नै आउने हो बिस्तारै आउनु होला हामी चै लाग्यौ भनि फटाफट अगाडि लागे । म भने अब एक्लै परें । मोटर बाटोको निर्माणले गर्दा होला अधिकांस पैदल बाटाहरु , खुड्किलाहरु पुरीएर हराइसकेका थिए । अघिल्लो रातको झरी र रातो माटो भिरको बाटो ज्यनै धरापमा राखि कसरी उकाली ओराली गर्ने ? भएभरका तेत्तिसकोटी देवी देवतालाइ संझदै लौरोको भरमा राम राम भन्दै ओरालो झरें । कठीन पैदल यात्राले गर्दा मैले भोक तिर्खा बिर्सिसकेको थिए । रंगिचंगि लालिगुरांशका घना जंगलको बाटो म एक्लै चिप्लदै घिस्रदै हिड्दै थिए । त्यतिकैमा नजिकै जंगलबाट एक रफ्तारमा अनौठो आवाज मेरो कानमा ठोक्किन पुग्यो । सुरुमा त मैले त्यति वास्ता नै गरीन तर बारम्बार आवाज आएपछी म पनि के रहेछ भनि रोकिइ आवाज तर्फ फर्की हेरेको त भालु ! मलाइ भालुले टढै देखि हेरीरहेको रहेछ म भने अन्जान उसै तिर नजिक नजिक हुंदो रहेछु । सायद त्यसैले होला उ मलाइ मेरो नजिक नआइज भन्दो रहेछ । तर उसको भाषा मैले बुझने कुरै भएन । अनि उ गज्रदो रहेछ । सो कुरा मलाइ के थाहा ? मेरो एक्कासी कालो भालुसंग घना जंगलको बीचमा जम्काभेट भयो । मैले नजर मोडे । हातखुट्टा लगलग कम्न थाले , शरीरका रौहरु जिंङरिङग ठाडा भए , बनपाखा फनफनि घुम्न थाले ,टाउको फुलेर गह्रुङ्गो भएको भान भयो । हे भगवान फेरी मलाइ के आपत आइलाग्यो ? घरमा नपुग्दो त केही थिएन फेरी किन यस्तो अप्ठेरो रोजे होला ? आफुले आफैलाइ धिक्कारें । नहुनु भै सक्यो अब मन सम्हाल्नु पर्छ भनि तत्काल मन दह्रो बनाए । मैले त्यसलाइ वास्ता पनि गरीन हेर्दा पनि हेरीन ।आफनो बाटो लागि रहें । जाइलागि हालेमा टेकेको लोरो त्यसको मुख भित्र पसाउछु भन्ने हिम्मत बढ्यो । म घुम्ति बाट टाढा टाढा हुदै गए । उसले पनि वास्ता गरेन । घारी भित्र कता पस्यो कुन्नी ?
केहिबेर हिडे पछि कुहिरो पनि फाट्दै गयो । माथि आकाशबाट घामका कीरण जमिनमा पर्न थाले । टाढा टाढाका बस्तुहरु देखिन थाले । मनको डर हटदै थियो तर फेरी लंगुर बांदरका फौजसंग जंम्का भेट हुन पुग्यो । अगुल्टा ले हानेको कुकुर बिजुली चंकदा क्वाइ भने झै भयो । रुखका हांगाविगा सर्ल्याड्सुर्लुङ गर्दै मै अगाडि उफ्रिन लाग्यो । मैले पनि भएभरको बल लगाइ भीरबाट ढुङ्गा गुल्ट्याए । रुखतिर झटारो हाने । अनुहारै रातो हुने गरी चिच्च्याए । खैलाबैला गर्दै पखेरै पखेरा भागे । धन्न नारान तै लफडा परेन !
सोमदाङ पुग्दा दिनको ३ बजि सकेको थियो । बिहानको ५ बजे देखि हिडेको यत्रा त्यसबेला सम्म पनि निरन्तर नै थियो । २ पुरी बिस्कुटको भरमा झण्डै १० घण्टाको कठीन यात्रा जारी नै थियो । थकाइ र भोकको कुनै सिमा नै थिएन । मलाइ छोडि अगाडि आएका भाइ बैनी पनि भोक प्यासले आकुल ब्याकुल भै बसेका रहेछन् । सोमदाङका सबै घर पसल बन्द थिए । पछि थाहा भयो यार्सा खोज्न गएका रे ! यसो चौतारी मा थकाइ मार्न मात्र टुसुक्क के बस्दै थिए एउटा मिनि ट्रक सामान झारी गत्लाङ तर्फ फर्कियो । म ठाडीपुछार गाडीको पछीपछी कराउंदै दौडिए । ड्राइबरले गाडी रोके र अनुनय बिनय र आफनो परीचय दिएपछि मात्र उनले आफुसंगैको सीटमा राखे । बल्ल मन ढुक्क भयो । इश्वर ले तं आंट मात्र म पुर्याउंछु भनेको हो रहेछ जस्तो लाग्यो । बीच बाटोमा चालक र सहचालक लडेका काठका मुडा र जंगली साग खोज्न बन तिर लागे म भने गाडी भित्रै बसी चाउचाउ र बिस्कुट पानी संगै घुटुक्क निल्न लागे । एक सास मै चाउचाउ बिस्कुट सर्ल्याम सुर्लुम्म । आफूसैग साथमा ल्याएको चाउचाउ र चकलेटहरु चालक र सह चालकलाइ पनि बांडे । गाडी भित्र हामी ३ जना मात्र थियौ । यात्रा भर मिठा मिठा गफ भए । एक आपसमा चिनजान भयो । मैले भालु र लंगुरसंगको जम्काभेटको कहानी भने । धन्न सर तपाइ लक्की हुनुहुंदो रहेछ । त्यस बाटो त एक्लै कोही पनि हिड्दैनन् । ब्यापक भालु लाग्ने ठाउं हो । मान्छे को पनि डर हुन्छ ,धेरैलाइ भालुले चिथरेको छ अनि लुटपाट पनि भएको छ । अब एक्लै नहिड्नु होला -मलाइ गाडी चालकले संझाउदै थिए । अघि सम्म नलागेको डर अब लाग्न थाल्यो । यो कुरा मलाइ थाहा भएको भए किन पो एक्लै हिड्थे होला र ? अनि मेरो तिप्लिङ हुदै रसुवा निस्कने सपना पनि यस पटक पनि अधुरै हुन्थ्यो होला ? केही कुरा थाहा नपाउनुको पनि फाइदानै हुंदो रहेछ कहिले कांही भन्ने कुरा त्यस यात्रामा भने प्रमाणित भयो । तर अब भने आउदा दिनहरुमा एक्लै यात्रा गर्न कसरी सकिन्छ होला र मनमा द्धिविधा भैरहेको छ ।
लेखक : नेपाल मानव अधिकार संगठन धादिङका सभापति तथा त्रिकोण खबरका प्रधान संपादक हुनुहुन्छ ।






