रुबीभ्याली गाउँपालिका द्वारा डिजिटल प्रोफाई सार्वजनिक

धादिङ । रुबीभ्याली गाउँपालिकाले डिजिटल प्रोफाइल निर्माण गरेको छ । गाउँपालिकाको स्थगलत अध्ययन, तथ्याङ्क सङ्कलन तथा प्राविधिक विश्लेषणपछि गाउँपालिकाको सम्पूर्ण वस्तुगत अवस्था समावेश गरी तयार गरेको ‘डिजिटल प्रोफाइल’ शुक्रबार धादिङ बेसि स्थित जिल्ला समन्वयको हलमा सार्वजनिक गरेको हो ।

प्रोफाइलमा गाउँपालिकाभित्र बसोबास गर्ने स्थानीयको विस्तृत व्यक्तिगत विवरणदेखि सार्वजनिक सम्पत्तिको तथ्याङ्क समावेश गरिएको छ । त्यस्तै पर्यटकीय स्थलहरुको समेत जानकारी दिएको छ ।अब एक क्लिकमा गाउँपालिकाका बारेमा विस्तृत अध्ययन गर्न सकिने छ ।

प्रोफाइलमा जनसङ्ख्या, भूगोल, जमिन, सडक, वन जङ्गल, शैक्षिक, आर्थिक, सामाजिक, धार्मिक, राजनीतिक, सांस्कृतिकजस्ता विषयलाई विस्तृत रूपमा समावेश गरिएको गाउँपालिका अध्यक्ष रामसिंह तामाङले जानकारी दिए ।

प्रोफाइलमा मुख्य एडमिनले सम्पूर्ण तथ्याङ्क नियन्त्रणमा राख्ने र वडा एडमिनले आफ्नो एडमिनको तथ्याङ्क सच्याउनेदेखि प्रिन्टको पहुँच राख्ने प्रोफाइल तयारकर्ता इन्जिनियरले बताए ।

प्रोफाइलमा भएको व्यक्तिगत विवरणबाहेक अन्य सार्वजनिक चासोका विषयलाई हेर्न सकिने छ । गाउँपालिकाका सबै घरधुरीको विवरण प्रविष्ट गरिएको प्रोफाइल तयार भएको हो ।

गाउँपालिकाको विकासका लागि योजना निर्माण र डिजिटल माध्यमबाट जानकारी लिन चाहनेलाई प्रोफाइलले सहयोग गर्ने अध्यक्ष तामाङको भनाइ छ । “अब गाउँका हरेक घटना र विवरण क्षणभरमै संसारको जुनसुकै कुनामा बसेर हेर्न र बुझ्न सकिने छ,” तामाङले भने, “प्रोफाइल अपडेट गर्न कर्मचारीलाई तयार गरिने छ ।”

जिल्ला समन्वय धादिङका अध्यक्ष नबराज अधिकारीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमको अध्यक्षता गाउँपालिका प्रमुख रामसिंह तामाङले गर्नु भएको थियो । त्यस्तै प्राध्यापक डा. नवीन बन्दु पहाडी, जिल्ला समन्वय अधिकारी, गाउँ पालिका उपाध्यक्ष फेलामा तामाङ, गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत राजाराम अधिकारी, वडा अध्यक्षहरु लगायतको आतिथ्यता रहेको थिए । कार्यक्रममा गाउँपालिकामा कार्यरत कर्मचारीहरु लगायत रुबीभ्यालीका स्थानीयहरुको सहभागीता रहेको थियो ।