त्रिपुरासुन्दरी गाउँपालिका ७ का वडा अध्यक्ष दर्पणले च्याते कार्यपालिकाको माईन्युट

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष सुवास अधिकारी (दर्पण)ले गाउँपालिकाले गरेको निर्णय पुस्तिका (माईन्युट) च्यातिदिएका छन् । उक्त घटना प्रति गाउँपालिकाका प्रवक्ता कुशबहादुर सिटौलाले विज्ञप्ती मार्फत खेद व्यक्त गरेका छन् भने पालिका उप-प्रमुख देवराज धरेलले कानुनी प्रक्रिमा जाने बताएका छन् ।

कक्षा ८ लाई विद्यार्थीको संख्या हेरेर कक्षा ५ मा ल्याउने, शिक्षक मिलान गर्ने निर्णय शिक्षा समितिको सिफारिसमा कार्यपालिकाले अनुमोदन गरेको हो । चित्त नबुझ्ला तर बहुमतको निर्णय मान्नु प¥यो नि गाउँपालिका प्रबक्ताले बताए ।

विज्ञप्तीमा भनिएको छ,
त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष सुवास अधिकारीले गाउँकार्यपालिकाको निर्णय पुस्तिका तथा गाउँ शिक्षा समितिको निर्णय पुस्तिका हेर्ने बहाना गरी कर्मचारीद्वय सुरेश रिजाल तथा स्रोत व्यक्ति नवराज पाठकबाट जवर्जस्ती निर्णय पुस्तिका खोसी निर्णयहरु च्यातिदिएकोले निर्वाचित जनप्रतिनिधि जस्तो गरिमामय पदमा बसेको व्यक्तिले यस्तो घृणित कार्य गरेकोमा गाउँपालिका खेद प्रकट गर्दछ ।

वडा अध्यक्ष दर्पण भन्छन्, असमान ढंगबाट शिक्षा समतिको सिफारिसमा विद्यालय डाउन र शिक्षक मिलानको काम भयो । आफुले पटक पटक भन्दा समेत मानियन त्यहि भएर निर्णय च्यातेको हुँ । पालिकाको विज्ञप्ती आएछ अब केहिबेरमा वडाको पनि विज्ञप्ती आउँछ उनले धादिङपोष्टलाई भने ।

म पार्टीबाट निर्वाचित वडा अध्यक्ष हुँ । जिल्ला इन्चार्ज पुष्पविक्रम मल्ल र जिल्ला सचिव दिपक लामिछाने सुबोध सँग सल्लाह गरेको छु । उहाँहरुले आफ्नो वडाको शैक्षिक मुद्धाका लागि लड्नु भएको छ ठिक भन्नु भएको छ तर हाम्रै पार्टीबाट उप प्रमुखमा निर्वाचित देवराज धरेल, वडा अध्यक्ष एवम् प्रवक्ता कुशबहादुर सिटौलाले असमान ढंगको निर्णय गर्नुभएको छ यस्ता रवैया विरुद्ध एक्लै भएपनि लडिरहने उनले बताए ।

स्रोत : धादिङ पोस्ट