सरुभक्तका ३ संग्रहका १०१७ वटा मुक्तक समेटिएको पुस्तक पोखरामा लोर्कापण

पोखरा । वरिष्ठ साहित्यकार सरुभक्तले रचना गरेका मुक्तकको संग्रह ‘सरुभक्तका मुक्तक’ आइतबार पोखरामा लोर्कापण गरिएको छ । पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा आयोजित कार्यक्रममा वरिष्ठ कार्टुनिष्ट दुर्गा बराल वात्स्यायनले कृतिको लोकापर्ण गरेका हुन् ।
नेपाल मुक्तक प्रतिष्ठान बेलायतले प्रकाशन गरेको कृतिमा सरुभक्तले सिर्जना गरेका नयाँ तथा पुराना, प्रकाशित तथा अप्रकाशित मुक्तक अटाएका छन् । यसअगाडि प्रकाशित तीनवटा  मुक्तक संग्रह र अप्रकाशित दुई संग्रहका मुक्तक यसमा समावेश गरिएको सरुभक्तले बताए ।
‘यसमा मेरा तीन प्रकाशित मुक्तक संग्रह बन्द खामभित्र, हजार बुद्धहरु र प्रेमयात्राका मुक्तकहरु र अन्य अप्रकाशित दुई संग्रह समययात्रा तथा जीवनयात्रा मुक्तक समावेश छन्’ उनले भने । यसरी यो संग्रहमा १ हजार १७ वटा मुक्तकहरु समावेश गरिएको उनले खुलाए ।
सरुभक्तले मुक्तक लेख्ने क्रम नरोकिएको समेत बताए । ‘यस संग्रहमा गतवर्षसम्म लेखिएका मुक्तक समावेश छन्, लेख्ने क्रम रोकिएको छैन, अब लेख्दिनकी भन्ने सोच बनाएको थिए एकपल्ट, तर मैले मुक्तक लेख्ने भन्दा मुक्तकले मलाई लेखाउने जस्तो भइरहेको छ’ उनले भने ।
हुनपनि नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति समेत रहेका वरिष्ठ  साहित्यकार सरुभक्तका मुक्तक प्रति अथाह लगाव रहेको छ । त्यसैलेत उनको औपचारिक साहित्यिक यात्रा मुक्तक संग्रह प्रकाशन गरेर नै भएको थियो । २०३५ सालमा प्रकाशित भएको बन्द खाम भित्र उनको प्रकाशित पहिलो कृति हो । ५४ वटा मुक्तक समावेश गरिएको यो कृति पोखराबाट प्रकाशित पहिलो कृति थियो । यसैबाट प्राप्त साहित्यप्रेमीको अथाह मायाका कारण पोखरामा टिकटमा मुक्त्तक कार्यक्रमको आयोजना गर्न थालिएको थियो । त्यतिबेला सरुभक्त पोखरेली युवा सांस्कृतिक परिवारको संस्थापक सचिव थिए । २०५० सालमा केही मुक्तक थप गरेर बन्द खामभित्र पुनः प्रकाशन भयो । यसैगरी २०६२ सालमा हजार बुद्धहरु र २०६७ सालमा प्रेमयात्रा मुक्तक संग्रह प्रकाशन भएको थियो ।
सरुभक्तले मुक्तकको क्षेत्रलाई थप परिस्कृत गर्न अन्तराष्ट्रिय मुक्तक गोष्ठी गर्ने समय आएको महशुस आफूलाई भएको भन्दै सो विषयतर्फ चिन्तन गर्न आग्रह समेत गरें ।
‘देश भित्र मात्र हैन विदेशका धेरैं ठाउँमा मुक्तकका गतिविधि भइरहेका छन् । अब अन्तराष्ट्रिय मुक्तक गोष्ठी गर्ने समय आएको महशुस गरिरहेको छु । अन्तराष्ट्रिय रुपमा विभिन्न देश विदेशमा रहेका मुक्तकसँग सम्बन्धीत संघ संस्थाहरु मिलेर अन्तराष्ट्रिय गोष्ठी किन नगर्ने त्यो दिशामा चिन्तन गर्न सक्यौ भने भविष्यका लागि उपयुक्त हुन्छ’ उनले आग्रह गरें ।
युवा अवस्थादेखि मुक्तक प्रतिको अनुरागका कारण विभिन्न कार्यक्रम गरेको समेत उनले स्मरण गरें । कार्यक्रममा उनले संग्रहमा समाबेश ४ वटा मुक्तक वाचन गरेर समेत सुनाएका थिए ।

जन्मभूमी पोखरामा नै रहेर नेपाली साहित्यको क्षेत्रमा बेग्लै पहिचान बनाउन सफल सरुभक्तका मुक्तकका अलावा कविता, गीत, नाटक, उपन्यास लगायत साहित्यका हरेक सिर्जना पाठकका लागि रुचिकर बन्ने गरेका छन् ।
मुक्तक मञ्च केन्द्रीय समिति पोखराका अध्यक्ष राम्जी प्रसाद आचार्यको अध्यक्षतामा भएको लोकापर्ण कार्यक्रममा, वरिष्ठ कार्टुनिष्ट दुर्गा बराल वात्स्यायन, संस्कृतिकर्मी तथा नेपाली लेखक संघका अध्यक्ष तीर्थ श्रेष्ठ, नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, मुक्तककार तथा आवरण प्रकाशनका रमेश पौडेल, नेपाल मुक्तक प्रतिष्ठान बेलायतका अध्यक्ष दुर्गा प्रसाद पोखरेल, प्रतिष्ठान बेलायतका सल्लाहकार तथा कृतिका सम्पादक डा. रुपक श्रेष्ठ लगायतले बोलेका थिए । र्‍याण्डम रिडर्स सोसाइटी पोखराका अध्यक्ष रुपिन्द्र प्रभावीले लोकापर्ण गरिएको कृतिमा समावेश मुक्तक वाचन समेत गरें ।
पुस्तकबाट विक्रिबाट प्राप्त रकमबाट अक्षयकोष खडा गर्ने र सो को व्याजबाट पुरस्कार स्थापना गर्ने लक्ष्य आफूहरुले राखेको नेपाल  मुक्तक प्रतिष्ठान बेलायतका सल्लाहकार तथा कृतिका सम्पादक डा. रुपक श्रेष्ठले बताए । यो मुक्तक संग्रहले नेपालको मुक्तक इतिहास र मुक्तक क्षेत्रमा भएका परिमार्जित स्वरुपलाई समेत चित्रित गरेको उनले खुलाए ।
मुक्तक मञ्च केन्द्रीय समिति पोखरा र नेपाल मुक्तक प्रतिष्ठान बेलायतको संयुक्त आयोजनामा लोकापर्ण समारोह सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here