धादिङ बेसिमा महिलाहरुको लागि सात दिने आयमूलक तथा सीप विकास तालिम सम्पन्न

धादिङ । ‘सीपबाट समृद्धि, सशक्त महिला, सबल नेतृत्व’ भन्ने मूल नारासहित धादिङ बेसीको क्रिक रिसोर्टमा सञ्चालन गरिएको सात दिने महिला सशक्तीकरणका लागि आयमूलक तथा सीप विकास तालिम भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ।
बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहयोग तथा परिवर्तनका लागि महिला मञ्च (WFC) नेपाल, धादिङको आयोजनामा सञ्चालन भएको उक्त तालिम चैत ४ गतेदेखि १० गतेसम्म सञ्चालन गरिएको थियो। तालिममा जिल्लाभरका महिला सहकारीका अध्यक्ष तथा प्रतिनिधि, महिला समूहका सदस्य, निर्वाचित वडा महिला सदस्य, कार्यपालिका सदस्य, दलित तथा एकल महिला गरी करिब ६० जनाको सक्रिय सहभागिता रहेको थियो।
समापन समारोहमा सहभागी महिलाहरूले तालिमबाट प्राप्त सीप र ज्ञानले आत्मविश्वास बढाएको तथा सिकेको सीपलाई व्यवहारमा उतारेर आर्थिक रूपमा आत्मनिर्भर बन्ने प्रतिबद्धता व्यक्त गरेका थिए। तालिम अवधिभर सहभागीहरूबीच अनुभव आदानप्रदान, व्यावहारिक अभ्यास तथा नेतृत्व विकाससम्बन्धी प्रशिक्षण सञ्चालन गरिएको थियो।
कार्यक्रमकी प्रमुख प्रशिक्षक कमला लामाले सहभागीहरूको सक्रियता र सिक्ने उत्साह प्रशंसनीय रहेको उल्लेख गर्दै तालिमले उनीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो।
परिवर्तनका लागि महिला मञ्च (WFC) नेपाल, धादिङकी अध्यक्ष सरला धमलाको अध्यक्षतामा सम्पन्न समापन समारोहमा नीलकण्ठ नगरपालिकाकी सामाजिक शाखा प्रमुख उमिर्ला थपलिया प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। साथै सामाजिक विकास एकाइ कार्यालय गजुरीका प्रतिनिधि, नीलकण्ठ नगरपालिका सामाजिक शाखा संयोजक मञ्जु मगर, जिल्लास्थित सञ्चारमाध्यमका प्रतिनिधि तथा सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथिले तालिम सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै सिकेको सीपलाई व्यवहारमा लागू गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो। उहाँले आगामी दिनमा समेत महिला लक्षित आयमूलक तथा सीपमूलक कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
आयोजक संस्थाकी अध्यक्ष धमलाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, प्रशिक्षक, स्थानीय निकाय, सरोकारवाला संस्था, सञ्चारकर्मी तथा क्रिक रिसोर्ट परिवारप्रति आभार व्यक्त गर्नुभयो। साथै संस्थालाई निरन्तर मार्गनिर्देशन र सहयोग प्रदान गरेकोमा बागमती प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री शालिकराम जमकट्टेलप्रति विशेष धन्यवाद व्यक्त गर्नुभयो।
समापन कार्यक्रममा सहभागी सबैलाई प्रमाणपत्र प्रदान गर्नुका साथै प्रोत्साहनस्वरूप आर्थिक सहयोग र उपहारसमेत वितरण गरिएको थियो। तालिमले स्थानीय महिलाहरूको क्षमता अभिवृद्धि गर्दै आत्मनिर्भर र सशक्त समाज निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।