अन्तर्राष्ट्रिय खबर । इरानमा विद्यार्थी आन्दोलन फेरि चर्किएको छ। राजधानी तेहरानसहित विभिन्न विश्वविद्यालयमा विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
नयाँ शैक्षिक सत्र सुरु भएसँगै विद्यार्थीहरूले आन्दोलनलाई निरन्तरता दिएका हुन्। तेहरानस्थित शरिफ युनिभर्सिटी अफ टेक्नोलोजी परिसरमा ठूलो संख्यामा विद्यार्थीहरू मार्चमा उत्रिएको तस्बिर तथा भिडियो सार्वजनिक भएका छन्। राजधानीकै अन्य विश्वविद्यालयमा धर्ना कार्यक्रम पनि गरिएको बताइएको छ।
गत जनवरीमा भएको आन्दोलनका क्रममा मारिएका विद्यार्थीहरूको सम्झनामा विश्वविद्यालयहरूमा कार्यक्रम गर्न खोज्दा सुरक्षाकर्मीले रोक्ने प्रयास गरेपछि विरोध चर्किएको जनाइएको छ। केही स्थानमा विद्यार्थी र सुरक्षा निकायबीच झडपसमेत भएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार विश्वविद्यालय क्षेत्रमा कडा सुरक्षा उपस्थितिसँगै केही विद्यार्थीलाई पक्राउ गरिएको छ भने आन्दोलनमा संलग्न भएको आरोपमा अनुशासनात्मक कारबाहीस्वरूप निलम्बन पनि सुरु गरिएको छ। यसले विद्यार्थीहरूमा थप आक्रोश बढाएको बताइएको छ।
जनवरीमा सुरु भएको आन्दोलन पछिल्लो समयकै ठूलो मानिएको थियो। त्यस क्रममा धेरै विद्यार्थी मारिएको दाबी गरिएको छ।
इरानमा आन्तरिक तनाव बढिरहेका बेला बाह्य दबाब पनि चर्किँदै गएको छ। अमेरिकाले इरान वरिपरि आफ्नो सैन्य उपस्थिति बढाएको छ भने परमाणु कार्यक्रम अन्त्य गर्न दबाब दिइरहेको छ। कूटनीतिक प्रयास असफल भए सैन्य विकल्प खुला रहने चेतावनीसमेत अमेरिकाले दिएको छ।
विद्यार्थी आन्दोलन पुनः सुरु भएसँगै इरानको राजनीतिक तथा सुरक्षा अवस्था थप संवेदनशील बनेको विश्लेषण गरिएको छ।






