धादिङ २ मा चम्पासिङको घरदैलो तीव्र, वैकल्पिक शक्तिका रूपमा उदय

धादिङ । धादिङ क्षेत्र नम्बर २ मा “आँखा” चुनाव चिन्ह लिएर उम्मेदवारी दिएका प्रलोपाका उम्मेदवार वीरबहादुर तामाङ (चम्पासिङ) यतिबेला चुनावी एजेन्डासहित मतदातामाझ सक्रिय देखिएका छन्।
पूर्व संविधानसभा सदस्यसमेत रहेका तामाङलाई धादिङ–२ मा वैकल्पिक शक्तिका रूपमा मतदाताले लिन थालेका छन्। उनी नीलकण्ठ नगरपालिका, ज्वालामुखी, नेत्रावती डबजोङ र त्रिपुरासुन्दरी गाउँपालिका लगायत क्षेत्रमा पुगेर घरदैलो तथा प्रत्यक्ष भेटघाट गरिरहेका छन्।
निर्वाचित भएमा जनताको आवाज संसदमा प्रभावकारी रूपमा उठाउने, स्थानीय आवश्यकताअनुसार नीतिगत सुधार गर्ने र कानुन निर्माणमा सक्रिय भूमिका खेल्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन्। शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै रोजगारी सिर्जना, सडक तथा खानेपानी विस्तार, कृषिको आधुनिकीकरण र युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने योजना उनले अघि सारेका छन्।
शालीन प्रस्तुति र आचारसंहिताप्रति प्रतिबद्धताका कारण मतदाताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको समर्थकहरू बताउँछन्। तामाङले विकास, सुशासन र पारदर्शिताका आधारमा आफूलाई मूल्यांकन गर्न मतदातासँग आग्रह गरेका छन्।
धादिङ–२ मा वैकल्पिक राजनीतिक शक्तिका रूपमा उनको सक्रियताले आगामी निर्वाचनमा नयाँ समीकरणको संकेत देखिएको छ।