त्रिपुरासुन्दरीमा रामबहादुर भण्डारीलाई बाजा–गाजासहित भव्य स्वागत

धादिङ । जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार रामबहादुर भण्डारीलाई आफ्नै पालिका त्रिपुरासुन्दरी गाउँपालिकामा स्थानीयवासीले बाजा–गाजा सहित भव्य स्वागत गरेका छन्।
गाउँपालिकाका विभिन्न वडामा मतदाता भेटघाट अभियानमा पुगेका उम्मेदवारसहित नेताहरूको टोलीलाई पञ्चेबाजा, नाराबाजी र र्‍यालीमार्फत उत्साहपूर्वक स्वागत गरिएको हो। स्थानीयले विकासका एजेण्डासहित उम्मेदवारलाई समर्थन जनाएका थिए।
स्वागतपछि बोल्दै भण्डारीले धादिङ–२ को समग्र विकास, कृषि आधुनिकीकरण, रोजगारी सिर्जना र पूर्वाधार विस्तारलाई मुख्य प्राथमिकतामा राख्ने बताए। शिक्षा, स्वास्थ्य, खानेपानी र सडक सञ्जाल विस्तारमा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गर्दै उनले जनताको भरोसा र साथले आफूलाई थप जिम्मेवार बनाएको उल्लेख गरे।
कार्यक्रममा सहभागी एक स्थानीय मतदाताले भण्डारी जनताका बीचमा निरन्तर रहने नेता भएको र विकासका स्पष्ट एजेण्डा प्रस्तुत गरेको बताए। “यसपटक परिवर्तन र स्थायित्वका लागि उहाँलाई समर्थन गर्छौं,” उनले भने।
अर्का मतदाताले गाउँमै आएर समस्या सुन्ने उम्मेदवार कम हुने भन्दै प्रत्यक्ष भेटघाटबाट सुझाव लिने कार्यले उत्साह थपेको प्रतिक्रिया दिए।
मतदाता भेटघाट अभियान भोलि पनि गाउँपालिकाका अन्य वडामा निरन्तर सञ्चालन हुने निर्वाचन परिचालन समितिका संयोजक जगत सिंखडाले जानकारी दिए। उनले मतदाताको उत्साहले अभियानमा थप रौनक आएको र फागुन २१ गते त्यो मतमा परिणत हुने आशा व्यक्त गरे।