संघर्षले लेखिएको जिउँदो सहिद रामबहादुर भण्डारीको जिबनी

धादिङ । रामबहादुर भण्डारी नेपाली राजनीतिक आन्दोलनका ती पात्र हुन्, जसको जीवन आफैंमा एउटा जिउँदो इतिहास बनेको छ। गोली, जेल र व्यक्तिगत पीडाका बीच पनि नझुकेको उनको संघर्ष यात्रा आजसम्म निरन्तर छ।
इन्द्रबहादुर र पदमकुमारीको कोखबाट जन्मिएका भण्डारी सामान्य किसान परिवारका सन्तान हुन्। तर समय र संघर्षले उनलाई असाधारण बनायो। २०३५ सालदेखि सुरु भएको उनको राजनीतिक चेतना किसान आन्दोलन हुँदै क्रान्तिको केन्द्रसम्म पुग्यो।
जनमत संग्रह, भूमिगत जीवन, मशाल, माओवादी र जनसरकारसम्मका सबै चरणमा उनी अग्रपङ्क्तिमा देखिए। यही क्रममा २०५५ साल जेष्ठ १८ गते उनी पक्राउ परे। भोलिपल्ट जेष्ठ १९ गते छातिमा गोली लागेपछि उनलाई मृत घोषित गरियो। तर जनताको पहलमा हेलिकप्टरमार्फत अस्पताल पुर्‍याइएपछि उनको प्राण फर्कियो। यद्यपि राज्यले उनलाई पुनः नियन्त्रणमा लियो र तीन वर्षभन्दा बढी समय जेल जीवन बिताउन बाध्य बनायो।
राजनीतिक संघर्षसँगै उनको व्यक्तिगत जीवन पनि गहिरो पीडाले भरिएको छ। पत्नी सुमित्रा भण्डारीसँगको वैवाहिक जीवनबाट जन्मिएका पाँच सन्तानमध्ये दुई छोरा जनयुद्धका क्रममा बेपत्ता भए। २०५८ चैत २९ गते बुढाथुमबाट छोरा सुचन्द्र र २०६० कार्तिकमा नयाँबजारबाट छोरा सुवास बेपत्ता भए। आजसम्म उनीहरू जीवित छन् कि छैनन् भन्ने प्रश्न अनुत्तरित छ।
यही पीडाले भण्डारीलाई कमजोर बनाएन, बरु झन् अडिग बनायो। २०५८ सालमा जेलमुक्त भएपछि उनी पुनः नेतृत्वदायी भूमिकामा सक्रिय भए। २०६०, ६१ र ६३ सालमा विभिन्न जिम्मेवारी सम्हालेका उनले शान्ति प्रक्रियापछि मेलमिलापको राजनीतिमा भूमिका खेले। २०७० सालमा उनी शान्ति समिति अध्यक्ष बने।
केन्द्रीय राजनीतिमा निरन्तर सक्रिय भण्डारी २०८१ सालमा माओवादी केन्द्रको केन्द्रीय सदस्य र २०८२ सालमा नेकपाको केन्द्रीय सदस्य बने। हाल उनी धादिङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्।
छातिमा गोलीको घाउ, हृदयमा छोराको पीडा र मनमा जनताको सपना बोकेर हिँडिरहेका भण्डारीलाई उनका समर्थकहरू नेता मात्र होइन, एउटा आन्दोलनको प्रतीकका रूपमा हेर्छन्। भाषणभन्दा जीवनले बोलेको उनका लागि संघर्ष नै परिचय बनेको छ।
लामो समयको त्याग, बलिदान र प्रतीक्षापछि भण्डारी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट धादिङ क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका छन्।
नेपालमा अन्याय, गरिबी र असमानता कायम रहुन्जेल रामबहादुर भण्डारी जस्ता संघर्षशील पात्रहरू जनताको स्मृति र चेतनामा जीवित रहने विश्वास उनका सहकर्मी र समर्थकहरूको छ।