लापा–धादिङबेसि सडकमा भोलिदेखि नियमित सवारी साधन सञ्चालन

धादिङ । रुवी भ्याली गाउँपालिकाका वडा नं. ५ र ६ लाई जोड्ने लापा–खादिङ सडक अन्तर्गत लापा सम्मको सडक खण्डमा भोलिदेखि नियमित सवारी साधन सञ्चालन हुने भएको छ।

उक्त सडक खण्डको गत पुस २९ गते औपचारिक उद्घाटन भइसकेको छ। उद्घाटनपछि परीक्षण तयारीमा रहेको सो सडकमा माघ ४ गतेदेखि बिहान ७ बजे लापा र धादिङ बेसि बाटै संयुक्त यातायात बस तथा जिप सेवा प्रा.लि. अन्तर्गतको जिप सेवा सञ्चालनमा ल्याउन लागिएको हो।

संयुक्त यातायात बस तथा जिप सेवा प्रा.लि. का अध्यक्ष रामशरण थापाका अनुसार आखुखोला माथि रहेका तीनवटा घुम्तीमा तत्काल मर्मत आवश्यक रहेकाले सुरुवाती चरणमा परीक्षणकालका रूपमा सवारी सञ्चालन गर्न लागिएको हो।

परीक्षणकाललाई ध्यानमा राख्दै भाडादर पनि अस्थायी रूपमा तोकिएको अध्यक्ष थापाले जानकारी दिनुभयो। उहाँका अनुसार भाडा दर तीन चरणमा निर्धारण गरिएको छ, जसअनुसार १६ सय, १४ सय र १३ सय ५० रुपैयाँ तोकिएको छ। सुरुवाती चरणमा १६ सय रुपैयाँ भाडा लिइने र पछि अवस्था हेरेर परिमार्जन गरिने बताइएको छ।

लामो समयदेखि दुर्गम भूगोलका कारण पैदल यात्रामा निर्भर रहँदै आएका स्थानीयवासीका लागि सडक सञ्चालन ऐतिहासिक उपलब्धि मानिएको छ। सडक सञ्चालनसँगै यातायात, शिक्षा, स्वास्थ्य सेवा तथा कृषि उपजको बजारीकरण सहज भई लापा गाउँको समग्र सामाजिक–आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।