काठमाडौ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा नेपालको अलैँची निर्यात उल्लेख्य रूपमा बढेको छ। मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार मङ्सिर मसान्तसम्म अलैँचीको निर्यात ६० दशमलव १० प्रतिशतले वृद्धि भई करिब २ हजार ६२२ मेट्रिक टन पुगेको छ। यस अवधिमा अलैँची निर्यातबाट रु ५ अर्ब ५३ करोड ३२ लाखभन्दा बढी आम्दानी भएको छ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा रु ३ अर्ब ४५ करोड ६३ लाख बराबरको मात्र अलैँची निर्यात भएको थियो। निर्यात वृद्धिसँगै पूर्वी नेपालका किसान र व्यापारीमा आशा बढेको देखिन्छ।
यद्यपि, यसै अवधिमा चियाको निर्यात भने ३१ दशमलव ४० प्रतिशतले घटेर रु १ अर्ब ८५ करोडमा सीमित भएको छ। तथ्याङ्कअनुसार भेनीयर सिट, छुर्पी, अदुवा–सुठो, काउली, ब्रोकाउली र मुसुरो दालको निर्यातमा वृद्धि देखिएको छ भने प्लाउड, अम्रिसो र फलामे पाताको निर्यात घटेको छ।
मेची भन्सार कार्यालयका अनुसार चालु आवको पहिलो पाँच महिनामा कुल रु १० अर्ब ७१ करोड ५४ लाख बराबरको मालवस्तु निर्यात भएको छ।






