संयुक्त नागरिक पार्टीले ६ गते क्रिसमस विशेष शुभकामना आदानप्रदान कार्यक्रम गर्ने

धादिङ । संयुक्त नागरिक पार्टी, धादिङको आयोजनामा २०८२ साल पौष ६ गते आइतबार मेरी क्रिसमस २०८२ तथा ई.सं. २०२६ को अवसरमा शुभकामना आदान–प्रदान, चियापान तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिने भएको छ।

उक्त कार्यक्रममा संयुक्त नागरिक पार्टीका केन्द्रीय अध्यक्ष दलमर्दन कामी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष डा. जित घले, उपाध्यक्ष डा. बलराम बिक र सिलास दिनदीयाल विशिष्ट अतिथिका रूपमा उपस्थित रहनेछन्। त्यसैगरी पार्टीका सह–महासचिव तथा प्रवक्ता प्रमोद खड्का विशेष अतिथि रहनेछन् भने केन्द्रीय सदस्य बालकृष्ण प्रधान डेबिटको पनि उपस्थिति रहने जनाइएको छ।

कार्यक्रममा धादिङ जिल्लाका विभिन्न समुदायका अग्रज तथा विशेष अगुवाहरूको गरिमामय उपस्थिति रहने पार्टीले जनाएको छ। आपसी सद्भाव, सामाजिक एकता र राजनीतिक संवादलाई सुदृढ गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले बताएका छन्।

संयुक्त नागरिक पार्टी, धादिङले जिल्लावासी सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन आग्रह गरेको छ।