धादिङ । “मानव अधिकार, हामी सबैको अपरिहार्य आधार” भन्ने मूल नारासहित ७५औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा धादिङमा विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपाल मानव अधिकार वर्ष पुस्तक २०८२ को पूर्व–समीक्षा, जिल्लामा देखिएका मानव अधिकारका चुनौती तथा आगामी कार्यदिशाबारे गहन छलफल भएको छ। साथै, धादिङमा युवा मानव अधिकार संरक्षक सञ्जाल समेत गठन गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि धादिङ जिल्ला समन्वय समितिका उप–प्रमुख कुलमान विश्वकर्मा रहेका थिए। विशेष अतिथि नीलकण्ठ नगरपालिकाका उप–मेयर दिपक विश्वकर्मा तथा अतिथि धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी र जिल्ला प्रहरी कार्यालय धादिङका SP सुमित खड्का उपस्थित थिए।
कार्यक्रममा सरकारी तथा गैर–सरकारी निकायका प्रतिनिधि, पत्रकार, युवा तथा विभिन्न समुदायका सरोकारवालाको उल्लेखनीय सहभागिता थियो।
यस अवसरमा जिल्ला स्वास्थ्य प्रमुखले पछिल्ला वर्षमा बढ्दै गएको आत्महत्याको जोखिमबारे चिन्ता व्यक्त गर्दै सञ्चार माध्यमले जिम्मेवार ढंगले समाचार प्रस्तुति गर्नुपर्नेमा विशेष जोर दिए। उनका अनुसार, समाचारमा प्रयोग हुने भाषा, कोण तथा प्रस्तुति समाजमा सकारात्मक प्रभाव पार्ने किसिमले हुनुपर्ने आवश्यकता छ।
वक्ताहरूले स्थानीय तहमा रहेका मानव अधिकारका चुनौती, प्रभावकारी कार्यान्वयनका उपाय र आगामी वर्षका लागि आवश्यक कार्ययोजना बारे आफ्नो धारणा राखे।
कार्यक्रममार्फत गठन भएको युवा मानव अधिकार संरक्षक सञ्जालले धादिङमा मानव अधिकार संरक्षण, प्रवर्द्धन तथा निगरानी कार्यलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।






