देशभर स्थिर मौसम, पश्चिमी वायुको असर समाप्त

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै महत्वपूर्ण मौसम प्रणाली सक्रिय छैन। केही दिनअगाडि पश्चिमी वायुको आंशिक प्रभाव देखिए पनि अब यसको प्रभाव पूर्ण रूपमा समाप्त भएको छ।

महाशाखाले मंगलबार बिहान ८ बजे सार्वजनिक गरेको बुलेटिनमा देशका अधिकांश भूभागमा मौसम सफा रहेको उल्लेख छ।

गण्डकी र कर्णालीका पहाडी क्षेत्रहरूमा भने बिहानैदेखि आंशिक बदली देखिएको छ।

कोसी र मधेसका तराई भूभाग तथा सुदूरपश्चिमका उपत्यकाहरूका एक–दुई स्थानमा कुहिरो र हुस्सु देखिएको छ।

दिउँसो कोसी प्रदेशका पहाडी भागमा केही बदली रहने सम्भावना छ। अन्य प्रदेशहरूमा मौसम मुख्यतया खुला रहने महाशाखाले जनाएको छ।
राति देशभर मौसम स्थिर र सफा रहने पूर्वानुमान छ।