एमाले महाधिवेशन प्रतिनिधि छान्न आज देशभर चुनाव

काठमाडौँ । नेकपा एमालेले एघारौँ महाधिवेशनका लागि प्रतिनिधि चयन प्रक्रिया आज देशभर सुरु भएको छ। केही निर्वाचन क्षेत्रहरूमा सहमतिमार्फत प्रतिनिधि चयन भइसके पनि अधिकांश क्षेत्रमा बिहान ८ बजेदेखि मतदान थालिएको छ।

एमाले केन्द्रीय कार्यालयका अनुसार ११ गते उम्मेदवारी दर्ता सम्पन्न भएको थियो। प्रतिनिधि छनोट प्रक्रिया दिउँसो २ बजेसम्म चल्ने तथा स्थानीय परिस्थितिअनुसार समय मिलाइने जनाइएको छ।

केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार खुला, महिला, दलित र युवासहित संघीय निर्वाचन क्षेत्रहरूबाट करिब २ हजार प्रतिनिधि छनोट हुँदै छन्। साथै प्रवास, विभिन्न जनसंगठन तथा विभागहरूबाट पनि करिब १ सय प्रतिनिधि आउनेछन्।

मनोनीतसहित महाधिवेशनमा करिब २२ सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने अनुमान गरिएको छ। प्रतिनिधि छान्दा ४० वर्षभन्दा कम उमेरका युवाको सहभागिता अनिवार्य गरिएको समेत एमालेले जनाएको छ।

एमालेको एघारौँ महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौँमा आयोजना हुँदै छ।