काठमाडौँ । वैदेशिक रोजगारमा जाने नेपाली कामदारलाई गरिने स्वास्थ्य परीक्षण शुल्क एक्कासी धेरै बढेको भन्दै व्यवसायीहरूले असन्तोष जनाएका छन्।
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघले मंसिर १० देखि लागु हुने गरी शुल्क दोब्बर बनाइएको निर्णय कामदारमाथि आर्थिक बोझ हुन गएको टिप्पणी गरेको छ।
सरकारले यूएई जाने कामदारका लागि पहिले तोकिएको ४ हजार ५०० रुपैयाँलाई बढाएर ९ हजार ५०० रुपैयाँ पुर्याएको छ। त्यस्तै, अन्य धेरै मुलुकका लागि ६ हजार ५०० रहेको शुल्क पनि ९ हजार ५०० कायम गरिएको हो।
संघका अध्यक्ष दीपक थापाले श्रम स्वीकृतिको प्रक्रिया पूरा गर्न नेपालमा हुने परीक्षणलाई महँगो बनाइनु अनुचित रहेको भन्दै निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन्।
उनका अनुसार खाडी मुलुक तथा मलेसिया जाने कामदार धेरैजसो विपन्न पृष्ठभूमिका हुने भएकाले ठूलो रकम एकैपटक तिर्नुपर्ने बाध्यताले थप समस्या सिर्जना गरेको छ।
संघले जारी गरेको विज्ञप्तिमा गन्तव्य मुलुकहरूले आफ्नै मापदण्डअनुसार पुनः स्वास्थ्य परीक्षण गराउने प्रचलन भएकाले नेपालमा परीक्षण शुल्क वृद्धिको औचित्य नरहेको उल्लेख गरिएको छ।
आर्थिक रुपमा कमजोर परेका श्रमिकलाई मार पर्ने गरी गरिएको निर्णय तुरुन्त स्थगन गर्न संघले माग गरेको छ।






