एभोकाडो खेतीबाट लाखौं आम्दानी गर्दै ७१ बर्षीय राई

काठमाडौ । भोजपुरको हतुवागढी गाउँपालिका–५ होम्ताङका ७१ वर्षीय सकतबहादुर राई बुढ्यौली उमेरमा पनि कृषिमा उदाहरण बनेका छन्। उनले पछिल्ला वर्षहरूमा एभोकाडो खेतीलाई पेशा बनाएर राम्रो आम्दानी गर्न थालेका छन्।

राईले करिब २० रोपनी क्षेत्रफलमा एभोकाडोका बोटहरू रोपेका छन्। उनका अनुसार उत्पादन राम्रो भएपछि हरेक वर्ष करिब १० देखि १२ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ।

“पहिले बाँझो जमिन अलपत्र थियो, अहिले यही जमिनले आम्दानी दिन थालेको छ,” राई भन्छन्, “व्यावसायिक रूपमा खेती गर्दा आत्मनिर्भर हुन सकिन्छ भन्ने कुरा मैले आफ्नै अनुभवले देखेको छु।”

उनले उत्पादन गरेको एभोकाडो स्थानीय बजारसँगै काठमाडौँ, विराटनगर, धरान र इटहरीसम्म पठाइन्छ। लामो समय टिक्ने र बजार माग बढ्दो भएकाले एभोकाडो खेती भविष्यका लागि राम्रो सम्भावना भएको उनको विश्वास छ।

स्थानीय निकायको प्रोत्साहन र अनुभव साटासाटका कारण पछिल्लो समय भोजपुरमा किसानहरू व्यावसायिक बालीतर्फ आकर्षित भइरहेका छन्। तर, बजारसम्म पहुँच र यातायातको अभावले अझै केही चुनौती रहेको किसानहरूको भनाइ छ।