रेड फोर्स युरोप संयोजकमा स्पेनमा कार्यरत पाइलट सेजल कँडेल चयन

काठमाडौ । स्पेनको कोष्टा ब्लाङ्कामा बस्दै आएकी पाइलट विद्यार्थी सेजल कँडेल रेड फोर्स युरोप संयोजकमा चयन भएकी छन्। तीन वर्षदेखि पाइलट अध्ययनमा संलग्न कँडेल हाल कमर्सियल पाइलटको अन्तिम चरणमा छिन्।

गैडाकोट–१० मा जन्मेकी र बाल्यकालमै स्पेन पुगेकी उनी हाल २१ वर्षकी छन्। प्रचण्डलाई आदर्श व्यक्तित्वका रूपमा लिनेमध्येकी सेजल नेपाली जनप्रगतिशील मञ्च कोष्टा ब्लाङ्काकी सहसचिव समेत हुन्।

रेड फोर्स माओवादी निकट युवाहरुको नवगठित संगठन हो, जसले २००७ सालदेखि जनआन्दोलन हुँदै विद्रोहसम्मका उपलब्धिहरूको संरक्षण र विस्तार गर्ने उद्देश्य लिएको छ।

संयोजक बनेकी सेजलले युरोपका विभिन्न देशमा संगठन विस्तार गर्दै प्रगतिशील युवाहरूमार्फत देशको उज्ज्वल भविष्य निर्माणमा योगदान दिने बताइन्। उनका शब्दमा, “यो जिम्मेवारी सबै मिलेर पूरा गर्नेछौं। रेड फोर्सको सिद्धान्तअनुसार युवाहरूलाई देश निर्माणको दिशामा अघि बढाउँछौं।”