भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे टीका लगाउने उत्तम साइत रहेको छ।

समितिका सदस्य प्रा. देवमणि भट्टराईले धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय मुहूर्तको समयलाई शुभ मानेर साइत निर्धारण गरिएको बताए।

यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरु हुँदै कात्तिक ६ गते भाइटीकासँग सम्पन्न हुनेछ। कात्तिक ३ गते सोमबार लक्ष्मीपूजा, कात्तिक ५ गते आत्म (म्ह) पूजा र नेपाल संवत् ११४६ को नयाँ वर्ष मनाइनेछ।

समितिले शास्त्रीय विधिअनुसार भाइपूजा (किजापूजा) पनि कात्तिक ६ गते बिहीबार मनाइने जानकारी दिएको छ।