काठमाडौँ । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व बडादशैं आजदेखि सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि प्रारम्भ हुने दशैं पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिनसम्म धूमधामका साथ मनाइन्छ।
आज बिहान ९ः१३ बजे साइतमा देशभरका घरघरमा घटस्थापना गरिएको छ। पूजा कोठा वा दशैं घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित जमरा रोपेर दुर्गा देवीको आह्वान गरिएको हो।
धर्मशास्त्रअनुसार दशैंको नौ दिनसम्म दुर्गा देवीका नौ रूपको पूजा आराधना गरिन्छ। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्री देवीको विशेष पूजा गरिन्छ।
यसैगरी दशैंको सातौं दिन फूलपाती भित्र्याइने, महाअष्टमी र महानवमीमा बलिपूजा गरिने परम्परा छ। हनुमानढोकाको दशैं घरमा पनि आजैदेखि वैदिक विधिअनुसार घटस्थापना गरी दैनिक पूजा सुरु गरिएको छ।
यस वर्ष विजयादशमीको साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ। सोही दिन मान्यजनबाट टीका, जमरा र प्रसाद ग्रहण गरी दशैं मनाइनेछ।
बडादशैंलाई सत्यको असत्यमाथि विजय, पारिवारिक पुनर्मिलन र सामाजिक सद्भावको पर्वका रूपमा लिइन्छ।






