Gen-Z आन्दोलन पछि धादिङ काङ्ग्रेस भित्र नेतृत्व परिवर्तनको माग तीव्र

काठमाडौं । भदौ २३/२४ गते भएको Gen-Z आन्दोलनबाट उत्पन्न विंध्वंस र त्यसले ल्याएको राजनीतिक भूकम्पपछि नेपाली काङ्ग्रेसभित्र नेतृत्व परिवर्तनको आवाज तीव्र बनेको छ। आन्दोलनले देशभर अभूतपूर्व परिवर्तनको बाटो खोलेको भन्दै अब काङ्ग्रेसले पनि परिवर्तन स्वीकार नगरी बस्न नसक्ने प्रगतिशील धारले जोड दिएको छ।

नेपाली काङ्ग्रेसभित्रैबाट आएको वक्तव्यमा केन्द्रीय स्तरमा शेरबहादुर देउवा नेतृत्वको पुस्तादेखि लिएर जिल्लास्तरमा दशकौंसम्म पार्टीलाई असफलताको खाडलमा धकेली व्यक्तिगत लाभमा रमाउने नेताहरुलाई सम्मानसहित सक्रिय राजनीतिबाट विदा गर्ने समय आएको उल्लेख छ। पार्टीलाई निजी आर्थिक लाभ र राजनीतिक विरासत कायम गर्न प्रयोग गर्ने प्रवृत्तिले संगठन कमजोर भएको भन्दै अब ती नेताहरुलाई विदा गरेर नयाँ काङ्ग्रेस निर्माणमा जुट्न कार्यकर्ताहरुलाई आह्वान गरिएको छ।

धादिङको सन्दर्भमा करिब तीन दशकदेखि नेतृत्व गर्दै आएका सभापति रामनाथ अधिकारीलाई पनि विश्राम दिनुपर्ने माग खुलेर आएको छ। उनको दीर्घकालीन नेतृत्वमा संगठनले आम कार्यकर्ताको भावना अनुसार काम गर्न नसकेको, ओलि नेतृत्वको सरकारको अकर्मण्यता र गलत निर्णयलाई मौन समर्थन गरेको, मन्त्री पदमा रहँदा जनताको अपेक्षा अनुसार काम नगरेको तथा संगठनात्मक बैठक समेत नगरेको आरोप लगाइएको छ।

२४ गते भएको हिंसात्मक घटनाको नैतिक जिम्मेवारी अधिकारीले पनि लिनुपर्ने माग गरिएको छ। यदि उनले जिम्मेवारी स्वीकार नगरे काङ्ग्रेस कार्यकर्ताले नै उनको नेतृत्व अस्वीकार गर्दै नयाँ पुस्तालाई अघि बढाउनुपर्ने चेतावनी दिइएको छ।

प्रगतिशील काङ्ग्रेससम्बद्ध कार्यकर्ताले जारी गरेको अपीलमा भनिएको छ, “Gen-Z पुस्ताको क्रान्तिले सिङ्गो सत्ता परिवर्तन गरेर देखाइसकेको छ। अब नेपाली काङ्ग्रेसले पनि नयाँ पुस्ताको नेतृत्वमा प्रगतिशील, जवाफदेही र जनमुखी संगठन निर्माण गर्नु अपरिहार्य छ।