धादिङ । रूबी भ्याली गाउँपालिकाले दशैंअघि अवरुद्ध भएका सडकहरूलाई मर्मत गरी संचालन गर्ने भएको छ ।
साङ्कोस–तिप्लिङ–दामन पाख्रीन सडकखण्ड अन्तर्गत खनियाबास गाउँपालिकाको घाम्सा क्षेत्रमा दुईवटा ठूला पहिरो र पेर्चोको पहिरोका कारण हाल सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।
गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङका अनुसार अविरल वर्षाका कारण आएको बाढी र पहिरोले जनताले लामो समयदेखि यातायात सुविधा पाउन सकेका छैनन् । उनले वर्षा कम भएसँगै तत्काल मर्मत कार्य अगाडि बढाइने र दशैंअघि सडक सुचारु गर्ने प्रतिबद्धता जनाए ।
अध्यक्ष तामाङले भने, “जनताले यातायातबाट वञ्चित भएर समस्या भोग्नु परेको छ । अब वर्षा कम भएसँगै चाँडो भन्दा चाँडो सडक मर्मत गरेर संचालन गर्नेछौँ ।”
उनका अनुसार पालिकाले केवल तत्कालको मर्मत मात्र नभई दिगो समाधानका लागि पहिरो नियन्त्रण गर्ने योजना पनि तयारी गरिरहेको छ । यसका लागि प्राविधिक अध्ययनसँगै आवश्यक संरचना निर्माण गरेर दीर्घकालीन रूपमा सडक सञ्चालनमा राख्ने लक्ष्य रहेको बताए ।




























