७२ घण्टामा इजरायली आक्रमण, ६ देशमा २ सय बढीको मृत्यु

अन्तर्राष्ट्रिय खबर । पछिल्ला तीन दिनमा इजरायलले गाजा, सिरिया, लेबनान, कतार, यमन र ट्युनिसियासहितका छ मुलुकमा ठूला सैन्य आक्रमणहरू गरेको छ। विभिन्न स्रोतअनुसार यी कारबाहीमा करिब २०० भन्दा बढी मानिसले ज्यान गुमाएका छन् भने हजारौँ घाइते भएका छन्।

गाजामै मात्र करिब १५० जनाको मृत्यु भएको बताइएको छ। कतारको राजधानी दोहामा गरिएको हवाई आक्रमणमा हमास नेतासहित उनका सहयोगी र सुरक्षाकर्मी मारिएका छन्।

पूर्वी लेबनानमा हिज्बुल्लाहसँग सम्बन्धित स्थानमा इजरायली हवाई प्रहार हुँदा पाँच जना मारिएको जनाइएको छ। यस्तै सिरियामा वायुसेना बेसमाथि गरिएको आक्रमणलाई त्यहाँको सरकारले सार्वभौमिकतामाथि आक्रमण भन्दै विरोध जनाएको छ।

यमनको साना विमानस्थल र ट्युनिसियाको बन्दरगाह नजिक पनि आक्रमण भएको बताइएको छ। यद्यपि ट्युनिसियामा ठूलो क्षति भएको पुष्टि भएको छैन।

यस घटनापछि अरब मुलुकहरूले आपतकालीन बैठक बोलाएका छन् भने कतारी प्रधानमन्त्रीले आक्रमणले सम्भावित युद्धविरामको आशा समाप्त पारेको टिप्पणी गरेका छन्।