काठमाडौं — सागर डिष्टिलरी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आज (साउन २८ गते) देखि प्राथमिक शेयर (आईपीओ) बिक्री सुरु गरेको छ। कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतबराबर १४ लाख ५२ हजार कित्ता शेयर निष्कासनको अनुमति पाएको हो।
यसको १० प्रतिशत अर्थात १ लाख ४५ हजार २०० कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा विदेशमा रोजगारी गरिरहेका, श्रम स्वीकृति प्राप्त नेपाली नागरिकका लागि निष्कासन गरिएको हो। आवेदकले न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
आईपीओमा आवेदन दिने अन्तिम मिति भदौ १ गतेसम्म रहेको छ। उक्त अवधिभित्र पर्याप्त आवेदन नपरेमा भदौ ११ गतेसम्म अवधि लम्ब्याइनेछ। कम्पनीको इश्युअर रेटिङ इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले ‘आईआरएन बी+’ प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व पूरा गर्न उच्च जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।






