धादिङ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धादिङले मंगलबार धादिङबेसीमा २६औं स्थापना दिवस मनाएको छ। दिवसको अवसरमा “दिगो विकासमा पत्रकारको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रमको उद्घाटन गर्दै नीलकण्ठ नगरपालिका–१२ का वडा अध्यक्ष धर्मराज भण्डारीले पत्रकारलाई विकास र परिवर्तनको संवाहकको रूपमा प्रस्तुत गर्दै सत्य र तथ्यपरक पत्रकारिताले समाज रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गरे। उनले वडा स्तरमा शिक्षा, स्वास्थ्य, खानेपानी, विकास निर्माणलगायत क्षेत्रमा देखिएका सुधारबारे जानकारी दिँदै पत्रकारलाई कमजोर पक्ष उजागर गर्न आग्रह गरे।
फोनिज धादिङका अध्यक्ष अर्जुन श्रेष्ठले संस्थाको २६ वर्षे यात्रा, उतारचढाव र पत्रकारलाई सक्षम बनाउन सञ्चालन गरिएका तालिमबारे विवरण प्रस्तुत गरे। उनले स्थापना दिवसले अन्य संघ–संस्था सँग सम्बन्ध विस्तार र भावी रणनीति बनाउन सहयोग पुग्ने बताए।
कार्यक्रममा सहभागी वक्ताहरूले निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारितामार्फत समाजलाई दिगो विकासको बाटोमा अघि बढाउन सकिने धारणा राखे।






