‘गुन्डा नाइके’ चक्रे मिलन सहित ४७ जना गुण्डागर्दीमा संलग्न पक्राउ

काठमाडौँ । गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) बिहीबार राति काठमाडौँको महाराजगन्जस्थित होटल साम्बालाबाट पक्राउ परेका छन्।

प्रहरीका अनुसार मिलन होटलमा आफ्नो जन्मदिन मनाइरहेका बेला जिल्ला प्रहरी परिसर काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोली पुगेर उनलाई नियन्त्रणमा लिएको हो।

चक्रे मिलनसँगै उनका सहयोगीहरूलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ। प्रहरीले ठमेल र महाराजगन्ज क्षेत्रबाट गुण्डागर्दीमा संलग्न ४७ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

यसअघि मिलन २०७४ सालको वैशाख २६ मा पनि महाराजगन्जबाट पक्राउ परेका थिए।