खाद्य सुरक्षाका लागि तत्काल कदम चाल्न आग्रह गर्दै YCL धादिङ द्वारा ज्ञापनपत्र पेश

धादिङ । विषादीयुक्त खाद्य वस्तु, कालोबजारी र कृषि क्षेत्रमा देखिएका गम्भीर समस्याका विरुद्ध युवा कम्युनिस्ट लिग (YCL) धादिङले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट भातृ संगठन YCL जिल्ला समन्वय समिति धादिङले आइतबार प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै किसान र उपभोक्ताको हक हितका मुद्दा उठाएको हो।

ज्ञापनपत्रमा विषादी प्रयोग भएका तरकारी तथा फलफूलका कारण किसान र उपभोक्ता दुवै मारमा परेको उल्लेख छ। “किसानले उत्पादन गरेको वस्तु बजारमा बिक्री नहुँदा आर्थिक संकट झेल्न बाध्य छन् भने उपभोक्ता स्वास्थ्य जोखिममा परेका छन्,” ज्ञापनमा भनिएको छ।

YCL का अनुसार सरकारले यस्ता गम्भीर समस्या समयमै सम्बोधन नगर्दा राष्ट्रिय खाद्य सुरक्षा, उपभोक्ता संरक्षण र आत्मनिर्भरता नै संकटमा परेको छ। संगठनले कृषि वस्तुको विषादी परीक्षण, मूल्य नियन्त्रण, बिचौलिया नियन्त्रण र किसानको उत्पादनलाई प्राथमिकता दिन सरकारलाई कडा माग गरेको छ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामबहादुर भण्डारी, जिल्ला संयोजक मनराज भण्डारी (शैलेस), जिल्ला सचिव दीपक लामिछाने (सुबोध), प्रदेश सदस्य मिलन सिलवाल, गजुरी-१ का वडा अध्यक्ष तारानाथ भण्डारी, YCL धादिङ इञ्चार्ज सन्तोष अधिकारी, नीलकण्ठ नगर अध्यक्ष अमृत तामाङ, जिल्ला सचिव सन्तोष रेग्मी लगायतको सहभागिता रहेको थियो।

YCL इञ्चार्ज सन्तोष अधिकारी र अध्यक्ष राजन लम्सालले हस्ताक्षर गरेको ज्ञापनपत्रमा भनिएको छ, “यदि सरकारले यथाशीघ्र ठोस कदम चालेन भने YCL नेपाल आन्दोलनका कार्यक्रमलाई देशव्यापी बनाउनेछ।”