धादिङ । धादिङको थाँक्रे गाउँपालिका वडा नम्बर ७ र ८ जोड्ने पृथ्वीराजमार्ग अन्तर्गत सोप्याङ खोलाको पुलमा भ्वाङ परेपछि सवारी आवागमन दुवैतर्फ अवरुद्ध भएको छ।
नयाँ पुल निर्माण कार्य भइरहेका बेला उत्पन्न कम्पन (भाइब्रेसन) का कारण पुरानो पुलको वालमा क्षति पुगेपछि काठमाडौँबाट धार्के हुँदै महादेबवेशी तर्फ जाने र महादेबवेशीबाट काठमाडौँ तर्फ आउने बाटो पूर्ण रूपमा बन्द गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी, धादिङले जनाएको छ।
पुलमा भ्वाङ परेपछि साना सवारी साधनलाई पृथ्वीराजमार्गको गल्छीबाट नुवाकोट हुँदै काठमाडौँ र काठमाडौँ–टोखा–नुवाकोट हुँदै गल्छीको वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ।
यस्तै, गजुरीबाट काठमाडौँ तर्फ जाने ठूला सवारीसाधनलाई गल्छीको मास्टारसम्म रोकिन र काठमाडौँबाट बाहिरिने ठूला सवारीलाई खानीखोलामा रोकिन ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ।
पुल मर्मत कार्य सुरु भइसकेकाले काम सकिएपछि आवागमन सुचारु गरिने कार्यालयले जनाएको छ।
यसैबीच, नागढुंगा–नौविसे सडकखण्डमा दिउँसो कालोपत्रे कार्य भइरहेकाले नौविसे हुँदै काठमाडौँ आउने सवारीसाधन धार्के–सितापाइला मार्ग हुँदै सञ्चालन भइरहेकोमा, धार्केभन्दा केही तल रहेको सोप्याङ खोलाको पुलमा भ्वाङ परेपछि आवागमन थप समस्या उत्पन्न भएको छ।




























