अन्तर्राष्ट्रिय खबर । जम्मु-कस्मिरको पहलगामस्थित बैसरन उपत्यकामा मंगलबार दिउँसो भएको आतंकवादी हमलामा २६ जनाको मृत्यु भएको छ। घाइतेमध्ये २० जनाभन्दा बढीको उपचार भइरहेको जनाइएको छ।
स्थानीय समयअनुसार दिउँसो २:४५ बजे पर्यटकहरूको समूहमाथि अज्ञात बन्दुकधारीले अन्धाधुन्द गोली चलाएका थिए। मारिनेहरूमध्ये एक जना इटालियन, एक इजरायली पर्यटक, दुई जना स्थानीय नागरिक र बाँकी भारतका विभिन्न राज्यका पर्यटक रहेका छन्।
प्रत्यक्षदर्शीका अनुसार आतंककारीले एक पर्यटकको नाम सोधेर टाउकामा गोली हानेपछि अन्यमाथि फायरिङ गरेका थिए। हमलापछि लश्कर-ए-तैयबाले यस घटनाको जिम्मेवारी लिएको बताइएको छ।
सुरक्षाबलले आक्रमणस्थलको घेराबन्दी गरी हेलिकप्टरमार्फत निगरानी गरिरहेको छ। घटनापछि सो क्षेत्र तनावग्रस्त बनेको छ भने स्थानीय प्रशासनले सुरक्षालाई उच्च सतर्क अवस्थामा राखेको छ।