धादिङ । नेपालभर आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा धादिङको ज्वालामुखी गाउँपालिकाका परीक्षार्थीहरूलाई सहयोग पुर्याउने उद्देश्यले निःशुल्क बस सेवा सञ्चालन गरिएको छ। सोही विद्यालयहरुका शिक्षकहरु यदुनाथ लोहनी र सानू नेपालीको विशेष पहलमा ज्वालामुखी-७ निवासी,
हाल साउदी अरेबियामा वैदेशिक रोजगारीमा रहेका समाजसेवी एवं नेपाली प्रगतिशील मंच, साउदी अरेबियाका सचिव हरिभक्त मगरातीको आर्थिक सहयोगमा यो सेवा उपलब्ध गराइएको हो।
उनको सहयोगमा ज्वालामुखी-७ स्थित सालबास माध्यमिक विद्यालय र भुवनेश्वरी माध्यमिक विद्यालयका एसईई परीक्षार्थीहरूलाई परीक्षाका अवधी भर निःशुल्क बस सेवा प्रदान गरिनेछ। मगरातीका अनुसार, दुर्गम भेगका विद्यार्थीहरूलाई यातायात समस्याका कारण परीक्षामा असर नपरोस् भन्ने उद्देश्यले यो पहल गरिएको हो।
स्थानीय अभिभावक र विद्यार्थीहरूले मगरातीको सहयोगलाई प्रसंसा गर्दै यसले शिक्षाको प्रवर्द्धनमा ठूलो भूमिका खेल्ने बताएका छन्। विद्यालय प्रशासनले पनि परीक्षामा विद्यार्थीहरूको उपस्थिति सुनिश्चित गर्न यो सेवाले महत्वपूर्ण सहयोग गर्ने बताएको छ।
समाजसेवी मगरातीले भविष्यमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।