गोर्खा वेल्फियर ट्रस्टको सहयोगमा निर्मित गोठनदेवी आ.बि.को भवन उद्घाटन तथा हस्तान्तरण

तिप्लिङ । गोर्खा वेल्फियर ट्रस्टको आर्थिक सहयोगमा गोठनदेवी आधारभुत विद्यालय, तिप्लिङ-२ स्थित नवनिर्मित विद्यालय भवन हस्तान्तरणसहित उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
रुवी भ्याली गाउँपालिकाको वडा नं.२ तिप्लिङस्थित नवनिर्मित विद्यालय भवन उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष रामसिंह तामाङले आर्थिक सहयोग गर्ने संस्थाहरुलाई धन्यवाद दिदै अगामी दिनमा सहकार्य गरि अन्य कामहरू गर्दै जाने र विद्यालयलाई राजनीतिको थलो नबनाउन आग्रह गरेका थिए ।
उक्त कार्यक्रममा गोर्खा वेल्फियर ट्रस्टका डाइरेक्टर मेजर यम राना मगरको उपस्थितिमा गोठनदेवी आधारभुत विद्यालय र रुवी भ्याली गाउँपालिकाद्वारा पालिकामा खानेपानी र विद्यालय भवन निर्माण स्वरूप कदरपत्र सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा वडा अध्यक्षद्वय रुपा घले र समिर गुरुङको उपस्थितिसहित विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, शिक्षकशिक्षिका र अभिभावकहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो ।
विद्यालय व्यवस्थापक अध्यक्ष राम बहादुर तामाङले विद्यालयको स्तर उन्नति र विद्यार्थीको भविस्य निर्माणमा आफुले सक्दो काम गर्दै आएको जानकारी दिए ।