रुवीभ्यालीले कराँतेमा विजयी खेलाडी र एसईईमा उत्कृष्ट छात्रालाई नगद सहित सम्मान

धादिङ । धादिङको रुवी भ्याली गाउँपालिका द्वारा अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा विजयी खेलाडीहरु र माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ ।

भारतमा सम्पन्न अन्तर्राष्ट्रिय खुल्ला कराँते प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गर्दै रुवी भ्याली गाउँपालिकाका कराँते खेलाडीहरुले उत्कृष्ट प्रदर्शन सहित गोल्ड मेडल सहित अन्य मेडलहरु जित्न सफल भएकोमा गाउँपालिकाले तीन जना प्रशिक्षक सहित खेलाडीहरुलाई जनही नगद र कदरपत्र सहित सम्मान गरिएको हो ।

त्यस्तै गत एसईई परिक्षामा ३.४७ जिपिए सहित गाउँपालिका भरिमा उत्कृष्ट अंक ल्याउने दोङदेन मा.वि.कि फ्लोरिना घलेलाई नगद पचास हजार र कदरपत्र सहित सम्मान गरिएको छ ।
बधाई एवं शुभकामना दिँदै सक्षम विद्यार्थीले मात्रै देश निर्माण गर्न सक्ने भन्दै नीति निर्माण तहसम्म पुग्नुपर्ने र पालिकाको इतिहासमा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा विजयी खेलाडी र एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई हौसला प्रदान गर्नको लागि पालिकाले सम्मान गरेको अध्यक्ष रामसिंह तामाङले जानकारी दिए ।
त्यस्तै कार्यक्रममा उपाध्यक्ष फेलामा तामाङले सामुदायिक विद्यालय पनि उत्कृष्ट नतिजा ल्याउन सक्षम रहेको बताउनुभयो । प्राप्त नतिजाले सामुदायिक विद्यालयबाट पनि उत्कृष्ट अङ्क ल्याएर विद्यार्थी उत्तीर्ण हुनसक्छन् भन्ने सन्देश प्रवाह गरिएको बताउनु भयो ।
त्यस्तै शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख स्रोत व्यक्ति उत्तमलाल तामाङले विद्यार्थीहरु भविष्यका कर्णधार र नेतृत्व भएको भन्दै अहिलेदेखि नै शिक्षा, ज्ञान, सीप आर्जनतर्फ लाग्नुपर्ने र अगामी वर्षहरुमा पनि सम्मान कार्यक्रमलाई निरन्तरता दिने उनको भनाइ थियो ।