चीनमा फेरि फैलियो नयाँ रोग ‘ह्युमन मेटान्युमो’को महामारी

काठमाडौ । चीनमा फैलिएको भनिएको महामारीका विषयमा कतैबाट औपचारिक वा प्रामाणिक कुरा आइनसकेको संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले बताएका छन्। 

कोरोना महामारी फैलिएको ५ वर्षपछि चीनमा फेरि अर्को नयाँ भाइरस ‘ह्युमन मेटान्युमो’को संक्रमण फैलिएको समाचार आएपछि चिकित्सक सुवेदीले यस विषयमा आफ्नो धारणा सार्वजनिक गरेका हुन्। 

उनले जारी गरेको वक्तव्यअनुसार ‘ह्युमन मेटान्युमो भाइरसबाट प्रायः हुने सामान्य रुघाखोकी हो र कहिलेकाहीँ मात्र यसले चुस्त रोगप्रतिरोधी प्रणाली भएकालाई पनि निमोनिया (तल्लो श्वासप्रश्वास प्रणालीको संक्रमण) गराउँछ।’

उनले भनेका छन्, ‘त्यसैले भाइरसमा कुनै विशेष उत्परिवर्तन (म्युटेसन) नभईकन यसले मात्रै अहिले चीनमा देखिएको (देखिएकै हो भने) अस्पताल नै टनाटन हुने अवस्था ल्याउँदैन। यो भाइरस इन्फ्लुएन्जा वा पछिल्लो समयको कोभिडजस्तो चाँडो-चाँडो नयाँ उत्परिवर्तन हुने भनेर चिनिएको भाइरस पनि होइन।’

उनका अनुसार प्रायः जाडो मौसममा श्वासप्रश्वास प्रणालीका धेरैथरी भाइरस र केही ब्याक्टेरियाको संक्रमण बढ्ने र त्यसले गर्दा एकैपटक धेरैजना अस्पताल भर्ना हुने गरेको देखिन्छ।

उनले भनेका छन्,  ‘चीनमा पनि सायद त्यस्तै भएको होला। चीन भनेपछि विशेषगरी कोभिडको अनुभवपछि पश्चिमा मिडियाले त्यसै अतिरञ्जना गर्ने गरेका छन्।’

बरु अहिले बर्डफ्लुचाहिँ विश्वकै लागि चुनौती बनिरहेको उनको भनाइ छ। 

‘बरु अहिले समग्र विश्वकै लागि सबैभन्दा ठूलो डरचाहिँ हामीले बर्डफ्लु भनेर सुन्ने गरेको इन्फ्लुएन्जा भाइरसहरूको समूहमध्ये एचफाइभएनवान भन्ने भाइरसको आसन्न वैश्विक महामारीको छ’, उनले भनेका छन्। 

तर यो कति महिनाभित्र फैलन्छ, त्यो भन्न नसकिने उनले बताएका छन्। 

उनले अगाडि भनेका छन्, ‘तर विगत केही वर्षहरूमा जुन गतिले यसले पहिले समुद्री स्तनधारी जनावर अनि अमेरिका र क्यानडामा गाईवस्तु र अन्य जनावर, अनि तिनको हेरविचार गर्ने मानिसमा र पछिल्लो समय संक्रमित मानिस वा जनावर कसैसँग सम्पर्क नै नभएका मानिसलाई बिरामी बनाउँदै गएको छ, त्यसबारे चाहिँ सबै देश चनाखो भएर पूर्वतयारीमा जुट्न थालिहाल्नुपर्ने अवस्था आएको छ।’