भारतले ९४१ मेगावाट बिजुली नेपाल बाट किन्ने

काठमाडौं । नेपालको थप बिजुली भारतले किन्ने भएको छ। अन्तरदेशीय व्यापारका लागि भारतले नेपालका १२ जलविद्युत् परियोजनाहरूबाट थप २५१ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृत गरेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ। थप विद्युत् निर्यातसँगै भारतबाट कुल स्वीकृति पाएको विद्युत्को परिमाण कुल २८ जलविद्युत् आयोजनाबाट ९४१ मेगावाट पुगेको छ। 

यसअघिको स्वीकृत परिमाण ६९० मेगावाट थियो, जुन १६ जलविद्युत् आयोजनाबाट लिइएको थियो। भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले हरियाणा राज्यलाई थप १२५.८९ मेगावाट र बिहारलाई १२५ मेगावाट मध्यकालीन सम्झौताबमोजिम निर्यात गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको हो। योसँगै नेपालले पहिलोपटक बिहारमा मध्यकालीन विद्युत् बिक्री सम्झौतामार्फत विद्युत् निर्यात गर्ने भएको छ। 

१० जलविद्युत् आयोजनाहरूबाट उत्पादित १२५ मेगावाट विद्युत् बिहारलाई र २ जलविद्युत् आयोजनाहरूबाट उत्पादित थप १२५.८९ मेगावाट विद्युत् हरियाणा राज्यका वितरण कम्पनीहरूलाई बिक्री गरिनेछ। प्राधिकरणले हरियाणा राज्यलाई हाल १०९ मेगावाट विद्युत् बिक्री गरिरहेको छ। नेपालमा खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् हरेक वर्ष जुनदेखि अक्टोबरसम्म बिहार र हरियाणालाई बिक्री गरिनेछ। योसँगै मध्यकालीन सम्झौताबमोजिम भारतका राज्यस्तरका वितरण कम्पनीहरूलाई बिक्री गरिने विद्युत्को परिमाण ३६० मेगावाट पुगेको छ।