फेसबुकमा स्टाटस लेखेकै भरमा पक्राउ गरेकोमा YCL धादिङको विज्ञप्ति: तुरुन्तै रिहाईको माग

धादिङ । नेकपा माओवादी केन्द्र निकट भातृ युवा संगठन योङ् कम्युनिष्ट लीग(वाईसीयल)धादिङले विज्ञाप्ति निकालेर फेसबुकमा स्टाटस लेखेको भरमा वाईसीयल धादिङका सचिव राजन लामालाई पक्राउ गरेकोमा विना सर्त रिहाई गर्न माग गरिएको छ ।

सोमबार वाईसीयल धादिङले एक विज्ञाप्ति जारी गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रमा आफ्नो राय, विचार, वाक स्वतन्त्रता र संविधान प्रदत्त हकको धज्जी उडाउँने गरी लामालाई पक्राउ गरिनु किमार्थ स्वीकार्य नभएको भन्दै सरकारलाई ध्यानकर्षण गराएको हो ।

सामाजिक सञ्जाल एवम् फेसवुकमा लेखेकै आधारमा सोको सवाल– जवाफ र राजनैतिक तर्कको सामना गर्न नसकी उहाँलाई पक्रिनु निरंकुशताको पराकाष्ठ हो र यस घटनाको घोर भर्त्सना गर्दछौं,विज्ञप्तिमा भनिएको छ ।

 

मुलुकको १८ घण्टे लोडसेडिङलाई अन्त्य गर्ने कुशल नेतृत्वमाथि समर्थन जनाउँने एक क्रान्तिकारी युवाको विचारलाई कुण्ठित गर्ने मनासयले गिरफ्तार गरिनु र झुठा मुद्दा लगाउँनु भनेको किर्ते, भूष्ट, जालसाँजी, छलछाम र प्रतिगमनकारीको प्रतिविम्वित हर्कतको निष्कर्ष भएको विज्ञप्तिमा भनिएको छ ।

फेसबुकमा स्टाटस लेख्दै नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमाले कार्यकर्तालाई धम्कीपूर्ण अभिव्यक्ति दिएको आरोपमा योङ् कम्युनिष्ट लीग(वाईसीयल)धादिङको जिल्ला सचिव समेत रहेका राजन लामालाई गजुरीबाट आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । अभियुक्त लामामाथि साइबर व्युरो काठमाण्डौँको भोटाहिटीमा मुद्दा दर्ता गरि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्र धादिङको गजुरी गाउँपालिका पार्टी कमिटीद्धारा पनि विज्ञप्ति निकालेर सरकारलाई ध्यानकर्षण गराएको छ । वर्तमान राजनैतिक अवस्था र घटनाक्रमलाई मुल्याङकन गर्दै आफ्नो राय र तर्क गरेकै भरमा मुद्धा ममिला गर्नु प्रतिशोध राख्नु समग्र जनता पार्टी पंङतीमा मान्य नहुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

स्रोत : रेडियो बिहानी