पर्यटन मन्त्री बन्दै धादिङका रामनाथ अधिकारी

काठमाडौ । नेपाली कांग्रेसले आफ्नो भागमा परेका मन्त्रालयका लागि प्रस्तावित मन्त्रीको नाम नाम टुंगो लगाएको छ।

९ जनाको नाम टुंगो लाग्दा शेखर कोइराला र गगन थापा नेतृत्वको समूहलाई ४ जनाको कोटा दिइएको छ। यस हिसाबले संस्थापन र इतर समूहबीच ५५ र ४५ प्रतिशतको भागबण्डा भएको देखिन्छ।

कांग्रेसबाट प्रकाशमान सिंहले उपप्रधानमन्त्री भएर सरकारको नेतृत्व गर्नेछन्। उनले ऊर्जा वा रक्षा मन्त्रालयको विभागीय जिम्मेवारी पनि पाउनेछन्।

गृह मन्त्रालयमा रमेश लेखक, परराष्ट्रमा आरजु देउवा, वन वा कानुन मन्त्रालयमा अजय चौरसिया र सहरी विकासमा किशोरसिंह राठौरको नाम तय भएको छ। यी सबै संस्थापन समूहका हुन्।

यस्तै शेखर समूहको मन्त्री बन्ने चार जनामा स्वास्थ्यमा प्रदीप पौडेल, पर्यटनमा रामनाथ अधिकारी, कानुन वा कुनै एकमा हृदयराम थानी र ऊर्जा वा अर्को कुनै मन्त्रालयमा तेजुलाल चौधरीको नाम तय भएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री नियुक्त भइसकेका छन्। उनले सोमबार शपथ लिँदैछन्। उनीसँगै कांग्रेस र एमालेबाट मन्त्रीको पनि टुंगो लगाइएको छ।

आइतबार (असार ३०) साँझ नाम टुंगो लगाउन सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य शेखर कोइरालाबीच छलफल भएको थियो।

देउवासँग छलफलमा जानुअघि शेखर-गगन समूहका नेताहरूले छुट्टै छलफल गरेका थिए।
स्रोत : नेपाल खबर