पुटिन २४ वर्षपछि उत्तर कोरिया जाँदै

अन्तर्राष्ट्रिय खबर । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४ वर्षपछि पहिलोपटक उत्तर कोरियाको भ्रमण गर्ने भएका छन्। पुटिनले उत्तर कोरियाली नेता किम जोङ उनसँग राजधानी प्योङयाङमा भेटवार्ता गर्ने भएका छन्।

दुई नेताबीच गत वर्ष सेप्टेम्बरमा रुसी सहर भ्लादिभोस्टोकमा पनि भेट भएको थियो। सन् २००० पछि पुटिनले उत्तर कोरियाको भ्रमण गरेको यो पहिलो पटक हो।

क्रेमलिनले पुटिनको यस भ्रमणलाई मैत्रीपूर्ण भ्रमण भनेको छ भने रूसी मिडियाले पुटिन र किम जोङ उनले सुरक्षाका मुद्दाहरू सहित साझेदारी सम्झौतामा हस्ताक्षर गर्ने सम्भावना रहेको र दुई नेताहरूले संयुक्त वक्तव्य दिने बताएका छन्।

पुटिनले प्योङयाङको अर्थोडक्स चर्च अफ द लाइफ गिभिङ ट्रिनिटीको भ्रमण गर्न सक्ने बताइएको छ। रिपोर्टमा पुटिन प्योङयाङको कुमसुसन गेस्टहाउसमा बस्नेछन्, जहाँ चिनियाँ राष्ट्रपति सी जिनपिङले २०१९ मा उत्तर कोरियाको राजकीय भ्रमणको क्रममा बसेका थिए।