प्रधानमन्त्री द्वारा प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत प्राप्त भएको छ। प्रतिनिधिसभाको यो कार्यकालमा उनले चौथौपटक विश्वासको मत प्राप्त गरेका हुन्।

प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदको विरोध र नाराबाजीबीच प्रधानमन्त्री दाहालले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए। बैठकमा अन्य विपक्षी दलहरुलेसमेत आशनबाट उभिएर विरोध जनाएका थिए।

सभामुख देवराज घिमिरेले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा प्रधानमन्त्री दाहालका पक्षमा एक सय ५७ मत, विपक्षमा शून्य र मत दिन्न भन्ने प्रस्तावमा एक मत खसेको थियो। विश्वासको मत प्रक्रियामा एक सय ५८ सांसद सहभागी भएका सभामुख घिमिरेले जानकारी गराए।

कांग्रेसका सांसदको वेल घेराउ र नाराबाजीबीच सभामुख घिमिरेले प्रधानमन्त्री दाहाललाई विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न अनुमति दिएका थिए। कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठनको माग गरेर संसद् बैठक अवरुद्ध गर्दै आएको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दहाललाई एमाले, रास्वपा, नेकपा एकीकृत समाजवादी, जसपाको समर्थन छ। सरकारमा सहभागी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिएका हुन्।

प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।