कुलमानको परिवारमाथि अकुत सम्पत्ति आर्जनको आरोपमा अख्तियारमा उजुरी

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको परिवारमाथि अकुत सम्पत्ति आर्जनको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।

कुलमान घिसिङ प्राधिकरणको निर्देशक भएसँगै छोटो अवधिमा परिवारको आर्थिक स्रोतबिनै अर्बौं रुपैयाँ सम्पत्ति आर्जन भएको देखिएको भन्दै उजुरीकर्ताले अख्तियारमा उजुरी दर्ता गरेका हुन् ।

आयोगमा उजुरी परेसँगै कुलमानका भाइ गणेश घिसिङसहितको परिवारको सम्पत्तिका विषयमा अख्तियारले छानबिन सुरु गरेको छ । कुलमानले आफ्ना भाइ तथा परिवारका सदस्यलाई १ अर्ब रुपैयाँभन्दा बढी आम्दानी छोटो समयमा कसरी गराए भन्ने विषयमा छानबिन हुनुपर्ने भन्दै उजुरी परेको आयोग स्रोतले जनायो ।

घिसिङ पहिलोपटक नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशक नियुक्त भएपछि अपारदर्शी रूपमा आएको पैसा लगानी गरेर आफ्ना भाइ गणेश घिसिङका नाममा ३ करोडको कम्पनी दर्ता गराएका थिए । सो कम्पनीमा कुलमानले भाइहरूको नाम राखेको र अर्बौं रुपैयाँको सम्पत्ति आर्जन गरेको आरोप उजुरीकर्ताले लगाएका छन् । प्राधिकरणको आवरणमा सोही कम्पनीबाट अर्बभन्दा बढीको कारोबार कुलमानबाट के–कसरी भयो सबै छानबिन गरेर कानुनी दायरमा ल्याउनुपर्ने माग गर्दै उजुरी परेको हो ।

नेपाल विद्युत् प्राधिकरणमा सातौं तहबाट प्रवेश गरेका कुलमानले चिलिमे जलविद्युत् कम्पनीमा हुँदासमेत बनेपा धुलिखेललगायतका ठाउँमा २५ रोपनीभन्दा बढी जग्गा खरिद गरेको र प्राधिकरणको प्रबन्ध निर्देशक भएपछि आफ्ना भाइहरू गणेश घिसिङ, अनिल घिसिङ, सानुकान्छा घिसिङ र सुरेश घिसिङका नाममा २०७४ सालमा ३ करोडको लगानीमा तेन्डेल हार्डवेयर प्रालि नामक कम्पनी स्थापना गरेको र सो कम्पनीले १७ वटा बैंकमा गरेर अर्बभन्दा माथिको कारोबार गरेको भन्दै उजुरीमा कुनै आयस्रोत नभएका बिहान बेलुका खाना खानसमेत समस्या रहेको परिवारको अवस्था कुलमान प्राधिकरणको प्रबन्ध निर्देशक हुनासाथ ३ करोडको कम्पनी दर्ता गर्नसक्ने हैसियतको हुनुमा कुलमानले प्राधिकरणको आवरणमा कमाएको अवैध आम्दानी भएको भन्दै छानबिन गर्नुपर्ने उल्लेख छ ।

कुलमान २०७३ सालमा प्राधिकरणमा प्रबन्ध निर्देशक नियुक्त भएका थिए भने उनले आफ्ना भाइहरूका नाममा २०७४ सालमा सो तेन्डेल हार्डवेयर नामक कम्पनी दर्ता गरेका थिए । २०७४ सालमा स्थापना भएको कम्पनीले कुलमानको आवरणमा गरेको आम्दानी शंकास्पद देखिएपछि २०७४ सालमै तत्कालीन प्रधनमन्त्री केपी शर्मा ओलीका पालामा राजस्वले छापा हानेर तीन महिना कारोबार बन्द भएको थियो ।

शक्ति केन्द्रको दबाबमा क्लिन चिट लिएको सो कम्पनीले काठमाडौंको बौद्ध र सिन्धुपाल्चोकको पाँचखालमा शाखा कार्यालय खोलेर पूर्वतिर बन्दै गरेका सम्पूर्ण हाइड्रोपावरलाई प्राधिकरणका कार्यकारी निर्देशक आफ्ना दाइ कुलमान रहेको बताउँदै हार्डवेयरका सम्पूर्ण सामान यही कम्पनीमार्फत लानैपर्ने बाध्यकारी बनाइँदै आएको उजुरीमा उल्लेख छ ।

साथै, सन् २०१२ मा करिब ४ अर्ब ४७ करोडबराबरको कम्पनी लामा कन्स्ट्रक्सन प्रालिको ९ लाख ६० हजार कित्ता सेयर अर्थात् १२ दशमलव ५ प्रतिशत (तत्कालीन मूल्यनुसार ५५ करोड ८७ लाख रुपैयाँ)को सेयर इक्रा नेपालले खरिद गर्दा जम्मा ९ करोड ६० लाख मात्र देखाएर करछलीसमेत गरेको र सो रकमसमेत कुलमानले अवैध तरिकाले कमाएको रकम भएकाले छानबिन गर्नुपर्ने समेत उजुरीमा माग गरिएको छ ।

राजधानी दैनिकबाट