२ बर्षमा ५ पटक विश्वासको मत प्रधानमन्त्री प्रचण्डले लिदै

काठमाडौं । कोही काम गरेर किर्ति कमाउँछन्। कोही पुस्तक लेखेर र नयाँ काममार्फत किर्तिमानी कायम गर्छन्। तर, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने आफ्नै नेतृत्वको सरकारका लागि विश्वासको मत लिनुपर्ने किर्तिमानी कायम गर्ने भएका छन्। 

सोमबार जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतले मन्त्रीबाट राजीनामा दिँदै सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएपछि प्रचण्डका लागि यो किर्ति बनाउने अवसर मिलेको छ। 

अब उनले ५औं पटक विश्वासको मत लिनुपर्ने हुन्छ। यसअघि पनि उनले पटक–पटक विश्वासको मत लिनुपरेको थियो। 

सरकार गठनका क्रममा अहिलेको गठबन्धनकै साथ रहँदा प्रचण्डले विश्वासको मत लिनुपरेको थियो। त्यसक्रममा कांग्रेसलगायत सदनका प्रायः सबै दलले विश्वासको मत दिएका थिए। 

पछि एमाले सरकारबाट बाहिरियो। योसँगै प्रचण्डले दोस्रो पटक विश्वासको मत लिनुपरेको थियो। त्यसपछि विस्तारै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि सरकारबाट अलग भयो। प्रचण्डले तेस्रो पटक विश्वासको मत लिए। 

दुई महिनाअघि मात्र समीकरण परिवर्तन गरेका प्रचण्डले कांग्रेस सरकारबाहिर जाँदा चौथाृे पटक विश्वासको मत लिएका थिए। सो क्रममा उनलाई १५६ जना सांसदले समर्थन गरेका थिए। अब जसपा बाहिर निस्किएपछि फेरि विश्वासको मत लिँदा ५ औं पटक हुनेछ।