प्राथमिक तह, तृतीय श्रेणीको शिक्षक पदको लागि विज्ञापन खुला

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी,का चार हजार ४६२ शिक्षकको लागि विज्ञापन खुलेको छ ।

आयोगले आज एक सूचना जारी गर्दै विभिन्न समूहमा सातै प्रदेशका लागि विज्ञापन खुला गरेको हो ।

खुला, महिला, दलित महिला, मुस्लिम महिला, आदिवासी जनजाति, दलित, अपाङ्गता, पिछडिएको क्षेत्र र तराई-मधेशमा बसोबास गर्ने मधेशी, आदिवासी जनजाति, दलित, पिछडा वर्ग वा अल्पसङ्ख्यक मुसलमान समुदायका लागि विज्ञापन खुलाइएको छ ।

सबैभन्दा धेरै बागमती प्रदेशमा ११०३, कोशीमा १०७७, गण्डकीमा ८००, मधेशमा ५०८, लुम्बिनीमा ४९५,  सुदूरपश्चिममा ३०२ र कर्णालीमा १७७ जनाका लागि आवेदन खुलेको छ ।

न्यूनतम योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्न सक्ने आयोगले जनाएको छ ।

इच्छुक व्यक्तिले आयोगको अनलाइन दरखास्त प्रणाली https://online.tsc.gov.np/ मार्फत सम्पूर्ण विवरणहरू भरी दरखास्त दिनुपर्नेछ । 

आवेदन १३ गतेसम्म दिन सकिनेछ । दोब्बर दस्तुरमा भने २० गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ ।