आजबाट भारतमा लोकसभा निर्वाचन

काठमाडौ – भारतमा आजबाट लोकसभाको निर्वाचन सुरु हुँदैछ। विभिन्न चरणमा हुने निर्वाचनका लागि भारतको निर्वाचन आयोगले सम्पूर्ण तयारी पूरा गरेको छ।

आज हुने पहिलो चरणको निर्वाचनमा भारतको २१ राज्य र केन्द्र शासित प्रदेशका गरी १०२ सिटका लागि मतदान हुनेछ। जसका लागि १ हजार ६ सयभन्दा बढी उम्मेदवार मैदानमा उत्रेका छन्।

निर्वाचनको पहिलो चरणमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको वर्तमान मन्त्रीमण्डलमा रहेका ८ जना र तीन जना पूर्व मुख्यमन्त्री तथा एकजना पूर्व राज्यपाल मैदानमा छन्।

पहिलो चरणमा अरुणाचल, असाम, बिहार, छत्तीसगढ, मध्य प्रदेश, महाराष्ट्र, मणिपुर, मेघालय, मिजोरम, नगाल्यान्ड, राजस्थान, सिक्किम, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश, उत्तराखण्ड, पश्चिम बङ्गाल, अन्डमान निकोबार, जम्मू र काश्मीर, लक्षद्वीप, पुद्दुचेरीमा मतदान हुँदैछ।

मतदान अहिले बिहान नेपाली समय अनुसार ७ः१५ बजेबाट सुरु हुनेछ भने साँझ ६ः१५ बजे सकिने छ।

निर्वाचन आयोगका अनुसार पहिलो चरणमा १६ करोड ६३ लाखभन्दा बढी मतदाताले मतदान गर्नेछन्। जसमा ८ करोड ४ लाख पुरुष र ८ करोड २३ लाख महिला रहेका छन्। मतदानका लागि १ लाख ८७ हजार मतदान केन्द्र निर्धारण गरिएको छ।

निर्वाचनलाई ध्यानमा राखी सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ भने बढ्दो गर्मीलाई मध्यनजर गर्दै सरकारले यसअघि नै सबै सम्बन्धित निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ।

आजबाट सुरु हुने निर्वाचन जुन २१ सम्म सात चरणमा हुनेछ। देशभरका मतपत्रहरू एकैपटक सङ्कलन गरेर जुन ४ मा मतगणना गरिने र सामान्यतया सोही दिन नतिजा घोषणा गरिने निर्वाचन आयोगले जनाएको छ।

६ हप्ताभन्दा बढी समय सञ्चालन हुने निर्वाचनमा कूल ९७ करोड मतदाता मतदान गर्न योग्य रहेको आयोगले जनाएको छ।

निर्वाचन आयोगका अनुसार चुनावमा एक करोड ५० लाख मतदान कर्मचारीसहित १० लाखभन्दा बढी मतदान केन्द्र सञ्चालनमा रहनेछ।

यसै निर्वाचनबाट भारतको नयाँ प्रधानमन्त्री पनि चयन हुनेछ।