धादिङ अस्पताल र नुवाकोटको त्रिशुली अस्पताल सहित १० अस्पतालको स्तरउन्नती गर्ने बागमती प्रदेश सरकारको निर्णय

धादिङ । बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले धादिङ अस्पताल सहित १० वटा अस्पतालको स्तरउन्नती गर्ने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलको अध्यक्षतामा मंगलबार पौष ३ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको १६६९ जना (प्राबिधीक सहित ) कर्मचारीहरूको संगठन संरचना स्विकृत गर्दे हाल संचालनमा रहेका प्रदेश अस्पतालहरूको स्तरउन्ती गर्ने निर्णय गरेको हो ।
यसरी स्तरउन्नती हुने अस्पतालहरुमा धादिड अस्पताल (धादिडबेशी) १०० बेड, त्रिशुली अस्पताल (नुवाकोट)  १०० बेड, हेटौडा अस्पताल (मकवानपुर) ३०० बेड, सिन्धुली अस्पताल (सिन्धुली) १०० बेड, भक्तपुर अस्पताल (भक्तपुर)  ३०० बेड, बकुलर अस्पताल (चितवन)  १०० बेड, सिन्धुपाल्चोक अस्पताल (सिन्धुपाल्चोक ) ५० बेड, रामेछाप अस्पताल (रामेछाप)  ५० बेड,पशुपति चौलागाई अस्पताल (दोलखा)  ५० बेड, मेथिनकोट अस्पताल (काभ्रे)  ५० बेड रहेका छन् ।
बैठकले स्वास्थ्य मन्त्रालयतर्फको स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाको रिक्त दरबन्दी पदपूर्ति गर्न समेत प्रदेश लोकसेवा आयोगलाई अनुमति दिने निर्णय गरिएको छ । त्यस्तै मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती सेवा नियमावली मस्यौदा परामर्शका लागि प्रदेश लोकसेवा आयोगमा पठाउन स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरेको छ ।
सोहि बैठकले प्रदेशको शैक्षिक विकासका लागि प्रदेश सार्वजनिक विश्वविद्यालय स्थापना गर्नका लागि संरचना तयार गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको छ ।