पोखरा । राम कार्कीको ‘विकल्प’ माथि परिचर्चा : सत्तालिप्सा र आर्थिक लोभले कम्युनिस्ट आन्दोलन कमजोर
पोखरा । पञ्चायती शासन ढलेको पनि ३ दशकभन्दा बढी भयो । यसबीचमा ठूला राजनीतिक परिवर्तन पनि भए । दशक लामो द्वन्द्व भयो । राजतन्त्र ढल्यो । मुलुक संघीय शासन व्यवस्थामा गयो । तर नेतृत्वमा अहिलेकै चल्तीका नेताहरु नै हावी रहे । बेरोजगारी बढेको छ, युवा र विद्यार्थी विदेशिने क्रम रोकिएको छैन । जताततै असन्तुष्टी चुलिएको छ । पार्टी पार्टीजस्ता रहेनन् । पार्टीहरु विचारधाराहीन भए अर्थात् विचारधारा र गतिविधिबीच तालमेल मिलेन । सैद्धान्तिक रुपमा विचलित भए । कांग्रेस र कम्युनिस्ट पार्टीहरुमाथि यी र यस्तै आरोप लाग्दै आएका छन् । यथार्थ पनि यही हो ।
खासगरी जनवादी केन्द्रीयता आधार मानेर समाजवादलाई लक्ष्य मानेर अगाडि बढेका नेपाली कम्युनिस्टहरु सिद्धान्तबाट च्यूत भइसकेका छन् । पार्टी र राज्यको नेतृत्वमा रहेका व्यक्तिको अक्षमताकै कारण दलहरुमाथिको विश्वास टुट्दै गएको छ भने मुलुकको अर्थराजनीतिक नाजुक बनेको छ । माओवादी केन्द्रका नेता एवं पूर्व मन्त्री राम कार्की ‘पार्थ’ ले नागरिकको सन्तुष्टी र मुलुकले खेपेको समस्याको निकासका लागि ‘विकल्प’ अघि सारेका छन् । वैचारिक बहसका रुपमा उनले अघि सारेको विचारलाई पुस्तकाकार दिएका छन् । कार्की लिखित पुस्तक ‘विकल्प’ माथि शनिबार पोखरामा परिचर्चा गरिएका छ । बुक हिलले प्रकाशन गरेको पुस्तकको परिचर्चाका लागि दीपशिखा साहित्य संगम पोखराले मेसो मिलाएको हो ।
हेटौंडा महाधिवेशनमा पार्टीभित्र फरक मत प्रस्तुत गरेका कार्कीले अहिलेको अर्थराजनीतिक व्यवस्थाले विकृति भिœयाएकै कारण त्यसको विकल्पमा माक्र्सवाद अवलम्बन गर्नुपर्ने तर्क राखे । नेतृत्व र शासकमाथि निरन्तर प्रश्न गर्ने र कसैको विलक्षण प्रतिभामा भर नपर्नका लागि विकल्प आवश्यक रहेको उनको भनाइ थियो । अहिले नेपालका कम्युनिस्टको संगठन शैली, आर्थिक अपारदर्शिताका साथै सशस्त्र द्वन्द्व गरेको माओवादीभित्रै आएको वैचारिक, सामाजिक, सांस्कृतिक विचलनबारे कार्कीले पुस्तकमा परिचर्चा गरेका छन् ।
कार्यक्रममा विश्लेषक एवं वैज्ञानिक समाजवादी पार्टीका नेता आहुतिले नेतृत्वको देवत्वकरण, आर्थिक अपलन, पार्टीभित्रको गुटउपगुटको बारेमा लेखकले परिचर्चा गरेको बताए । उनले जनवादी केन्द्रियताले मात्र समस्या समाधान नहुने प्रस्ट भइसकेको भन्दै जनवादी केन्द्रीयतासँगै सिधा लोकतन्त्र एकाकार हुनुपर्ने भनाइ राखे । उनले अहिलेको माओवादी नेतृत्वलाई अजिंगरको संज्ञा दिँदै बाख्राको पाठो निलेर अजिर्ण भएको अजिंगरको अरु कसैको रोदन र चिच्याहट सुन्ने अवस्थामा नरहेको बताए । उनले भने, ‘कमरेड राम कार्कीले पुस्तकमार्फत नेतृत्वप्रति प्रश्न तेस्र्याउनुभएको छ, तर ती प्रश्नमाथि सम्बोधन हुँदैन भन्ने प्रस्ट भइसकेको छ, त्यसैले आशावादी हुन सकिँदैन ।’ हेटौंडा महाधिवेशनमै नेतृत्वमाथि प्रश्न तेस्र्याएर फरक मत राखेका कार्की कसरी अहिलेसम्म माओवादीमा अटिरहेका होलान् भनी उनले आश्चर्य व्यक्त गरे ।
उनले कार्कीलाई पार्टी छाडेर मास्र्कवादी स्कुल खोल्न आग्रह गरे । उनले भने, ‘तपाईंको स्वभावले पार्टीमा बसिरहन दिँदैन, तपाईंको नेतृत्वमा माक्र्सवादी स्कुल खोलौं, सच्चा माक्र्सवादीलाई आबद्ध गराऔं, बरु धेरथोर रकम जुटाउन म पनि सहयोग गरौंला ।’ कम्युनिस्ट पार्टीमा स्थायी पदजस्तो गरी टाँसिइरहने, एकातिर सर्वहारा भन्ने अर्कोतिर सम्पति लुकाउनेजस्ता प्रवृत्ति नेतृत्वमा रहेकाले माओवादी आन्दोलन स्खलित भएको आहुतिको भनाइ थियो । सम्पादनबिनै प्रकाशन भएकाले विसंगति धेरै रहेको उनले प्रतिक्रिया दिए ।
राजनीतिक विश्लेषक झलक सुवेदीले पार्टीहरुको वैचारिक संकटका कारणले नै अहिले आम निराशा छाएको भनाइ राखे । उनले भने, ‘लोकतन्त्रमा व्यवस्थाको विरोध गर्नुलाई सामान्य मानिन्छ, तर अहिले नागरिकमा छाएको निराशाको फाइदा लिएर पपुलिस्ट अतिवादीहरुले अस्थिरता सिर्जना गर्न खोजिरहेका छन्, दलहरुका लागि यो ठूलो चुनौती हो ।’ माक्र्र्सवादी चिन्तन बोकेका कम्युनिस्टहरु २०४६ पछि पटकपटक सत्तामा पुगे पनि राज्य सञ्चालनमा असफल भएको उनको भनाइ थियो । यसले माक्र्सवादी असफल भएको हो वा हाम्रो नेतृत्व असफल भएको हो खोजी गरिनुपर्ने सुवेदीले बताए ।
कम्युनिस्टको संगठन शैली माथिबाट लादिने खालको भएको, वर्गीय संगठनलाई क्रियाशील बनाउन नसकेको, नेतृत्वलाई चाहिएको बेलामात्र उनीहरुलाई परिचालित गर्ने प्रवृत्तिले नेपाली कम्युनिस्ट आन्दोलन कमजोर भएको उनको विश्लेषण थियो । पार्टी नेतृत्वमाथि प्रश्न गर्दा सदस्यले राजनीतिक भविष्य दाउमा राख्नुपर्ने अवस्थाका बारेमा लेखक कार्कीले पुस्तकमा उल्लेख गरेको सुवेदीले बताए । उनले भने, ‘नियन्त्रणमा राख्ने प्रवृत्तिले कम्युनिस्ट आन्दोलन कमजोर भएको हो ।’
कार्यक्रममा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री देवेन्द्र पौडेल, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यसहित, कम्युनिस्ट नेता, कार्यकर्ता, विश्लेषक एवं सर्वसाधारण उपस्थित थिए । बुकहिल पब्लिकेशनका सञ्चालक भूपेन्द्र खड्काले प्रकाशनको पृष्ठभूमि बताए । रुपिन्द्र प्रभावी कटुले सञ्चालन गरेको कार्यक्रममा दीपशिखा साहित्य संगम अध्यक्ष रामजीप्रसाद आचार्यले स्वागत गरे ।